बद्री पौडेल ,धादिङ , असार ७  , २०८३

गंगाजमुना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २५ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष रामेश्वर सिमखडा ले बजेट प्रस्तुत गरेका हुन् भने गाउँपालिकाका अध्यक्ष भक्त लामा ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। गाउँसभामा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी को समेत उपस्थिति रहेको थियो।

उपाध्यक्ष सिमखडाका अनुसार गाउँपालिकाको आन्तरिक आय ९९ लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने सञ्चित कोषमा ३ करोड ५० लाख रुपैयाँ रहेको छ।

संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ९ करोड १३ लाख २८ हजार, वित्तीय समानीकरण अनुदान ११ करोड ९६ लाख, सशर्त अनुदान २३ करोड २३ लाख, समपूरक अनुदान १ करोड ९५ लाख तथा विशेष अनुदान १ करोड रुपैयाँ प्राप्त भएको छ। यसरी संघीय सरकारबाट कुल ४७ करोड २७ लाख २८ हजार रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ३ करोड २० लाख ९७ हजार ६ सय ७० रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख २ हजार, सशर्त अनुदान १ करोड ३४ लाख ९९ हजार, समपूरक अनुदान २ करोड ४० लाख तथा विशेष अनुदान ७० लाख रुपैयाँ प्राप्त भएको छ। प्रदेश सरकारबाट कुल ८ करोड ७६ लाख २८ हजार ६ सय ७० रुपैयाँ प्राप्त भएको उपाध्यक्ष सिमखडाले जानकारी दिए।

बजेटमा सबै वडाका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक, खानेपानीलगायत सार्वजनिक पूर्वाधार निर्माणका लागि १४ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ। शिक्षा क्षेत्रतर्फ १० वर्षे गाउँ शिक्षा योजना कार्यान्वयनका लागि सशर्त अनुदान बाहेक थप २ करोड १८ लाख रुपैयाँ व्यवस्था गरिएको छ।

यस्तै, युवा तथा खेलकुद विकासका लागि १७ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४० लाख, कृषि क्षेत्रका लागि ५० लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, पशु विकासतर्फ ४० लाख तथा ४० वर्ष उमेर पुगेका एकल महिलाको संरक्षण कार्यक्रमका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाले शिक्षा, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम गाउँ पालिकाका का प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङ्तानले गर्नु भएको हो ।

गंगाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारी ले गाउँसभाबाट पारित बजेट तथा कार्यक्रम सम्बन्धी जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0