बद्री पौडेल ,धादिङ , असार ९ , २०८३

गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १२९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १५औँ गाउँसभाको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट हिजो असार ८ गते पारित गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी ले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय स्रोतको अधिकतम परिचालन, पूर्वाधार विकास, वडास्तरीय योजनाको प्रभावकारी कार्यान्वयन तथा विगतका दायित्व व्यवस्थापनलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताउनुभयो।

पारित बजेटअनुसार सामाजिक विकास क्षेत्रका लागि २६ करोड ८७ लाख ७० हजार ९५१ रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी पूर्वाधार विकासतर्फ २२ करोड ३० लाख रुपैयाँ, संस्थागत क्षमता विकास तथा सुशासनतर्फ १३ करोड १५ लाख ८ हजार रुपैयाँ, आर्थिक विकासतर्फ १ करोड ९८ लाख ४ हजार १७८ रुपैयाँ तथा वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६१ लाख रुपैयाँ छुट्याइएको छ।

आयतर्फ गाउँपालिकाले आन्तरिक स्रोतबाट १६ करोड ५८ लाख ९१ हजार ८२४ रुपैयाँ संकलन हुने अनुमान गरेको छ। यसमा स्थानीय राजस्व बाँडफाँड, दहत्तर–बहत्तर शुल्क, घरजग्गा रजिस्ट्रेशन शुल्क लगायतका आम्दानी समावेश छन्। साथै, ५ करोड रुपैयाँ नगद मौज्दात पनि बजेटको स्रोतका रूपमा राखिएको छ।

संघीय सरकारबाट ४१ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ। उक्त रकम वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा राजस्व बाँडफाँडमार्फत प्राप्त हुने जनाइएको छ। यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान र सवारी कर बाँडफाँडसमेत गरी १५ करोड ७३ लाख रुपैयाँभन्दा बढी स्रोत प्राप्त हुने प्रक्षेपण गरिएको छ।

व्ययतर्फ प्रत्येक वडामा सञ्चालन हुने योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ भने पालिकास्तरीय योजनाका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। विभिन्न शाखामार्फत सञ्चालन हुने कार्यक्रमका लागि ९ करोड ३७ लाख ६४ हजार १२९ रुपैयाँ व्यवस्था गरिएको छ।

त्यसैगरी, अघिल्लो आर्थिक वर्षका बाँकी दायित्व भुक्तानीका लागि ५ करोड रुपैयाँ, समपूरक प्रदेश योजनाका लागि ३ करोड ५१ लाख रुपैयाँ, स्थानीय विशेष योजनाका लागि २ करोड ५० लाख रुपैयाँ तथा साझेदारी कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।

चालु खर्चतर्फ संघीय सशर्त कार्यक्रम सञ्चालनका लागि १८ करोड ८६ लाख रुपैयाँ तथा प्रशासनिक र सञ्चालन खर्चका लागि १२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। सडक तथा सार्वजनिक संरचनाको निर्माण तथा मर्मतका लागि थप ७० लाख रुपैयाँ व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटले स्थानीय स्रोतको परिचालन, सेवा प्रवाहको सुदृढीकरण, पूर्वाधार विस्तार तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राखेको देखिन्छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप गति दिने तथा नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0