बद्री पौडेल,धादिङ, असार ९ , २०८३

नीलकण्ठ नगरपालिका–८ का कृषकहरूका लागि खुसीको खबर आएको छ। कृषि तथा पशुजन्य उत्पादनको संकलन, ढुवानी र बजारीकरणलाई सहज बनाउन “कृषि एम्बुलेन्स” सञ्चालनमा ल्याइने भएको छ।

वडा नं. ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार नीलकण्ठ–८ सहित नगरपालिका क्षेत्रभित्र उत्पादन हुने कृषि तथा पशु उपजहरूको संकलन तथा बिक्री–वितरणका लागि आकुरा कृषि तथा पशुपन्छी सहकारीमार्फत एक वटा गाडी र एक वटा स्कुटर खरिद गरिएको छ। उक्त गाडी र स्कुटर खरिदको लागि हेफर ईन्टर्नेश्नल र एक्सन नेपालको आर्थिक सहयोग र सहकारीबाट रकम जुटाई खरिद गरेको कृष्ण प्र कोइरालाले बताउनु भयो ।

सहकारीमार्फत सञ्चालन हुने उक्त सेवा अन्तर्गत कृषकका उत्पादनहरू गाउँघरबाटै संकलन गरी ‘कृषक बजार’ मार्फत नियमित रूपमा बिक्री–वितरण गरिनेछ। यसबाट कृषकहरूले उत्पादन बजारसम्म पुर्‍याउन भोग्दै आएको समस्या कम हुनुका साथै उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष श्रेष्ठले कृषि एम्बुलेन्स सेवाले स्थानीय कृषकको उत्पादनलाई बजारसँग जोड्दै कृषि व्यवसायलाई थप व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सेवा नियमित रूपमा सञ्चालन भएपछि कृषकहरूको लागत घट्ने, समयको बचत हुने र कृषि उपजको बजारीकरण थप प्रभावकारी बन्नेछ।

स्थानीय तहले कृषकमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै कृषि उत्पादनको संकलन, ढुवानी र बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0