धादिङ, असार ९ – धादिङको बेनिघाट रोराङ गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९१ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ।
आज सम्पन्न गाउँसभामा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास, सेवा प्रवाह तथा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो।
गाउँपालिकाले सार्वजनिक गरेको बजेट अनुसार चालुतर्फ ५० करोड ८ लाख ७७ हजार रुपैयाँ (५४.४५ प्रतिशत) तथा पुँजीगततर्फ ४१ करोड ९० लाख २३ हजार रुपैयाँ (४५.५५ प्रतिशत) खर्च हुने अनुमान गरिएको छ।
बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान र राजस्व बाँडफाँडमार्फत ६० करोड ३६ लाख २३ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। त्यस्तै, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा १० करोड ३९ लाख ३६ हजार ७२० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
गाउँपालिकाले आन्तरिक स्रोततर्फ स्थानीय राजस्व, बैंक मौज्दात तथा आन्तरिक आयसमेत समावेश गरी बजेटको स्रोत सुनिश्चित गरेको जनाएको छ। आन्तरिक आय वृद्धि गर्न करको दायरा विस्तार गर्ने, सहभागितामूलक कर नीति अवलम्बन गर्ने तथा विभिन्न शुल्क तथा दस्तुरलाई व्यवस्थित बनाउने नीति पनि अघि सारिएको छ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँसभाले प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाले जनाएको छ।
बेनिघाट रोराङ गाउँपालिकाले ल्यायो ९१ करोड ९९ लाखको बजेट, कृषि, पूर्वाधार र रोजगारीमा जोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






