धादिङ, असार ११ २०८३
गल्छी गाउँपालिका–२ वडा कार्यालयले कृषकहरूको उत्पादन लागत घटाई कृषि कार्यलाई थप सहज र आधुनिक बनाउन १६ जना कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ।
वडा कार्यालयको आयोजनामा सम्पन्न मिनिटिलर वितरण कार्यक्रममार्फत कृषकहरूलाई कृषि यान्त्रीकरणमा प्रोत्साहन गर्ने उद्देश्य राखिएको जनाइएको छ। खेतबारी जोत्न, गोडमेल गर्न तथा कृषि उत्पादन वृद्धि गर्न मिनिटिलर प्रभावकारी हुने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ।
जनस्वास्थ्य निरीक्षक शिवप्रसाद पौडेलका अनुसार गल्छी गाउँपालिका–२ ले कृषकहरूलाई आधुनिक कृषि प्रविधि र उपकरणमा पहुँच बढाउने नीतिअनुसार १६ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर उपलब्ध गराएको हो।
स्थानीय कृषकहरूले अनुदानमा प्राप्त उपकरणले कृषि कार्य सहज हुने, श्रम तथा समयको बचत हुने र उत्पादन वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। वडा कार्यालयले आगामी दिनमा पनि कृषकमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






