बद्री पौडेल ,धादिङ, असार १२ ,२०८३
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यक्रमको वार्षिक समीक्षा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत असार ११ र १२ गते जिल्ला जनस्वास्थ्य कार्यालय धादिङमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा धादिङ अस्पतालकी निमित्त निर्देशक डा. अस्मिता कटुवाल सहभागी हुनुभएको थियो। कार्यक्रमको सभापतित्व जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले गर्नुभएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छतकुलीका अनुसार कार्यक्रममा स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, व्यवस्थापन, अभिलेखीकरण, औषधि व्यवस्थापन, सरसफाइलगायत विभिन्न सूचकका आधारमा न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन गरिएको थियो।
मूल्याङ्कनको नतिजाअनुसार ज्वालामुखी गाउँपालिका–ढोला स्वास्थ्य चौकीले ९६ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी थाक्रे गाउँपालिकाको महादेवबेँसी स्वास्थ्य चौकी र बेनीघाट रोराङ गाउँपालिकाको जोगीमारा स्वास्थ्य चौकीले समान ९३ प्रतिशत अंक प्राप्त गर्दै संयुक्त रूपमा दोस्रो स्थान हासिल गरेका छन्। नीलकण्ठ नगरपालिका अन्तर्गतको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीले ९२ प्रतिशत अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ।
उत्कृष्ट अंक प्राप्त गर्ने स्वास्थ्य संस्थाहरूलाई कार्यक्रममा सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
समीक्षा कार्यक्रममा धादिङ जिल्लाका १३ मध्ये १२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा धादिङ अस्पतालका कर्मचारीहरूको सहभागिता रहेको सूचना अधिकारी छतकुलीले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।







