काठमाडौं, असार १४ , २०८३
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा, मेघगर्जन तथा चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा र केही स्थानमा अत्यधिक भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै देशका अन्य पहाडी, तराई तथा हिमाली क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको हो।
प्राधिकरणले जारी गरेको सूचनामा बाढी आउन सक्ने खोला तथा नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र भिरालो बाटो हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। डुबानको जोखिम भएका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा अरूलाई पनि समयमै जानकारी गराउन अनुरोध गरिएको छ।
त्यस्तै, तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा जोखिमयुक्त सडकमा आवश्यक डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ। विपद् व्यवस्थापनसँग सम्बन्धित साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क रहन भनिएको छ।
वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोगका लागि ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा अनुसरण गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।






