धादिङ, असार १३, २०८३।
बाल विवाह जस्तो सामाजिक विकृति अन्त्य गर्ने उद्देश्यले त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा “बाल विवाह अन्त्यका लागि सामुदायिक परिचालन सम्बन्धी जनचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ।
सल्यानटार माध्यमिक विद्यालय, सल्यानटार तथा त्रिपुरासुन्दरी माध्यमिक विद्यालय, कठेरीमा आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, शिक्षक–शिक्षिका तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै जनप्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षकहरूले बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक, सामाजिक तथा आर्थिक अवस्थामाथि गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको अन्त्यका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए। उनीहरूले बाल विवाह कानुनअनुसार दण्डनीय अपराध मात्र नभई मानव अधिकारको गम्भीर उल्लङ्घन पनि भएकाले समुदायका हरेक नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
श्याम बहादुर मगरातीको सहजीकरणमा सम्पन्न कार्यक्रममा बाल अधिकार, बाल विवाहका कारण र असर, बाल विवाह अन्त्यसम्बन्धी विद्यमान कानुनी व्यवस्था तथा यसको रोकथाममा सरोकारवालाको भूमिका लगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो समुदायमा बाल विवाह हुन नदिने तथा त्यस्ता घटना थाहा पाएमा सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्रिपुरासुन्दरी गाउँपालिकामा बाल विवाह अझै चुनौतीका रूपमा रहेकाले विद्यालय, समुदाय, वडा तथा पालिका स्तरमा जनचेतनामूलक गतिविधिहरूलाई निरन्तर सञ्चालन गरिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख वीना सिटौलाले जानकारी दिनुभयो।
कार्यक्रमका सहजीकर्ता श्याम बहादुर मगरातीका अनुसार, बाल विवाह अन्त्य गर्न कानुनी कार्यान्वयनसँगै समुदायस्तरमा निरन्तर जनचेतना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक रहेको छ। त्यसका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार तथा समुदायबीच समन्वयात्मक भूमिका अपरिहार्य रहेको उहाँले बताउनुभयो।






