धादिङ, असार १५ ,२०८३ साल
राष्ट्रिय धान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका–८ स्थित स्वावलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा अभिभावकका लागि पङ्खा हस्तान्तरण, निःशुल्क स्वास्थ्य परीक्षण तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।
शितल छहारी नेपालको आयोजनामा र कोइन ई भि जर्मनको सहयोगमा विद्यालयको किचन र भोजन कक्षका लागि आवश्यक पङ्खा नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रमका क्रममा विद्यार्थी, शिक्षक तथा समुदायका अभिभावक गरी जम्मा ६७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। साथै राष्ट्रिय धान दिवस (असार १५) को अवसर पारेर विद्यालयका बालबालिका, शिक्षक तथा स्वास्थ्यकर्मीलाई दही–चिउरा खुवाई उत्सव मनाइएको थियो।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा बागमती प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारी, शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेल, धादिङ अस्पतालका मेडिकल अधिकृत डा. सबिन भण्डारी, डा. एलिसा कोसया, शहीद मेमोरियल अस्पताल धादिङका निर्देशक दीपक रेग्मी तथा शितल छहारी नेपालकी सल्लाहकार बिना भट्ट पौडेलको सहभागिता रहेको थियो।
त्यसैगरी पत्रकार श्याम मगराती, ईश्वर थापा मगर, गजेन्द्र गुरुङ, विमल तामाङ र शिशिर तामाङलगायतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालयलाई सहयोग गर्ने शितल छहारी नेपाल तथा साझेदार संस्थाप्रति आभार व्यक्त गर्दै आगामी आर्थिक वर्षमा विद्यालयसम्म जाने सडक स्तरोन्नति गरी सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले बहिरा बालबालिकाको शिक्षा, स्वास्थ्य र आधारभूत सुविधा सुधारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।







