नुवाकोट, असार १७, २०८३

बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको सूचना पुनरावेदन समितिको आयोजनामा ‘सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ नुवाकोटमा सम्पन्न भएको छ।

बट्टार बजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीले सूचना पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएकाले सार्वजनिक निकायहरूले आफ्नो कार्यालयसँग सम्बन्धित सूचना समयमै नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। उहाँले सूचना प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न सके सुशासन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा नुवाकोट जिल्लाका सबै स्थानीय तहका वडा सचिव, गाउँपालिका तथा नगरपालिकाका सूचना अधिकारी, साथै विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, सार्वजनिक निकायको दायित्व, सूचना प्रवाहका चुनौती तथा प्रभावकारी कार्यान्वयनका उपायबारे छलफल गरिएको थियो।

बागमती प्रदेश सरकारको सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र बिक्रम ठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, प्रहरी नायव उपरीक्षक विपिन रेग्मीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालाहरूको आतिथ्यता रहेको थियो।

सहभागीहरूले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै सार्वजनिक निकायले समयमै सूचना उपलब्ध गराउने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0