धादिङ, असार १८ — धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा बेच्नका लागि पकाएर राखिएको खानामा किरा भेटिएपछि दुई होटललाई कारबाही गरिएको छ।

जिल्ला अनुगमन समितिका अनुसार गजुरी गाउँपालिका–२, विहानी पम्प नजिक सञ्चालनमा रहेका शुभलक्ष्मी होटल र मन्दिरा होटल एण्ड रेष्टुरेन्ट लाई जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अस्वच्छ तथा गुणस्तरहीन खाना बिक्रीका लागि राखिएको पाइएपछि जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।

अनुगमनका क्रममा होटलहरूमा बेच्नका लागि पकाएर राखिएको खानामा किरा भेटिनुका साथै सरसफाइको अवस्था पनि अत्यन्त कमजोर रहेको समितिले जनाएको छ।

यसैगरी, गल्छी गाउँपालिका–७ स्थित गल्छी खुवा पसल र थाक्रे गाउँपालिका–७ मा रहेको दिव्यांशी होटल एण्ड लज लाई पनि जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै धुनीवेशी नगरपालिका–७ मा रहेको थकाली भान्सा घर लाई १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ।

समितिका अनुसार ती व्यवसायमा भान्सा अत्यन्त फोहोर अवस्थामा रहेको, फ्रिजमा राखिएका खाद्यवस्तु कुहिएको अवस्थामा भेटिएको, बासी खाना ग्राहकलाई खुवाइएको तथा मूल्यसूचीसमेत नराखिएको पाइएकाले कारबाही गरिएको हो।

जिल्ला अनुगमन समितिले खाद्य व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील बन्न, होटल तथा रेष्टुरेन्टमा सरसफाइ कायम राख्न, ताजा तथा गुणस्तरीय खाना मात्रै बिक्री गर्न र मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। समितिले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र मापदण्ड उल्लङ्घन गर्ने व्यवसायमाथि कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0