धादिङ, १८ असार २०८३
जनस्वास्थ्य कार्यालय, धादिङको आयोजनामा मिति २०८३ साल असार १८ गते सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग कार्यालयबाट सञ्चालित कार्यक्रम, सम्पादित गतिविधि तथा सरुवा र नसर्ने रोगसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयबाट आर्थिक वर्षभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रम, सम्पादित प्रमुख गतिविधि तथा प्राप्त उपलब्धिबारे जानकारी गराइएको थियो। साथै जिल्लामा देखिएका सरुवा रोग र नसर्ने रोगको वर्तमान अवस्था, तिनको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका उपायबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल तथा जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले गर्नुभएको थियो। उहाँहरूले कार्यालयका कार्यक्रम, स्वास्थ्य सेवाको अवस्था, सरुवा तथा नसर्ने रोगको रोकथामका लागि भइरहेका प्रयास तथा आगामी योजनाबारे प्रस्तुति दिनुका साथै सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले स्वास्थ्य सेवाको प्रभावकारी प्रवाह, जनस्वास्थ्यसम्बन्धी सूचनाको समयमै सम्प्रेषण तथा समुदायमा स्वास्थ्य सचेतना विस्तारका विषयमा सुझाव राखेका थिए। कार्यक्रममा स्वास्थ्यका क्षेत्रमा सञ्चारमाध्यम र सरोकारवालाबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।






