चितवन ,२०८३/३/१९
अत्यन्तै दुःखद घटनामा चितवनको रत्ननगरमा माइक्रोबस चालक चन्द्रबहादुर बुढाथोकीको हृदयघातका कारण हिजो १८ गते निधन भएको छ। तर उनले अन्तिम क्षणसम्म पनि आफ्नो कर्तव्यबाट पछि हटेनन्।
प्राप्त जानकारीअनुसार ५५ वर्षीय चालक बुढाथोकीलाई सवारी चलाइरहेका बेला अचानक हृदयघात भएको थियो। असहज अवस्थाका बाबजुद उनले धैर्यता र साहस देखाउँदै माइक्रोबसलाई सुरक्षित रूपमा सडकको छेउमा रोके, जसका कारण गाडीमा सवार १४ जना यात्रुको ज्यान सुरक्षित रह्यो।
गाडी सुरक्षित रूपमा रोकेलगत्तै उनी स्टेरिङमै ढलेका थिए। तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
आफ्नो ज्यानको पर्वाह नगरी यात्रुको सुरक्षा सुनिश्चित गर्ने चालक चन्द्रबहादुर बुढाथोकीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।






