काठमाडौं , १९ असार २०८३

धादिङका बस तथा माइक्रोबस काउन्टरहरू पहिले बसपार्कभन्दा बाहिर माछापोखरी क्षेत्रमा सञ्चालन हुँदा यात्रुले विभिन्न असुविधा भोग्दै आएका थिए। साँघुरो स्थान, हिलोयुक्त वातावरण तथा सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरूलाई दैनिक सास्ती हुने गरेको थियो। पैसा तिरेर पनि सहज रूपमा शौचालय प्रयोग गर्न नपाउने गुनासो यात्रुहरूको थियो।

तर, वैशाख महिनादेखि नयाँ बसपार्कबाट यातायात सेवा सञ्चालनमा आएपछि यात्रुहरूले राहतको अनुभूति गरेका छन्। फराकिलो पार्किङ क्षेत्र, व्यवस्थित बस तथा माइक्रो काउन्टर, सफा वातावरण र सार्वजनिक शौचालयको सहज उपलब्धताले यात्रुहरूको यात्रा अनुभवमा सकारात्मक परिवर्तन आएको उनीहरूको भनाइ छ।

यात्रामा सहभागी अंशु तामाङ र भोजबहादुर मगरले नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रा निकै सहज भएको बताउनुभयो। उहाँहरूका अनुसार, पहिले माछापोखरी क्षेत्रमा बसपार्क हुँदा हिलो, फोहोर र शौचालयको समस्याले यात्रुहरूलाई निकै सास्ती हुने गरेको थियो। अहिले फराकिलो स्थान, व्यवस्थित बसपार्क र सफा सार्वजनिक शौचालयको सुविधा उपलब्ध भएकाले यात्रा गर्न सहज र आरामदायी भएको उहाँहरूले बताउनुभयो।

स्थानीयवासी तथा यात्रुहरूले नयाँ बसपार्कको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै सरसफाइ, सुरक्षा र यात्रुमैत्री सेवालाई निरन्तरता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0