काठमाडौं, असार २६ ,२०८३
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएका २५ वर्षीय (केही स्रोतमा २६ वर्ष उल्लेख) गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
प्रहरीका अनुसार गणेश नेपाली राइड सेयरिङ (पठाओ) चालक थिए। उनले चलाएको बागमती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल राहदानी विभागको गेटअगाडि अनधिकृत स्थानमा पार्किङ गरिएको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएको थियो।
त्यसपछि उनले आफ्नै शरीरमा आगो लगाएको बताइएको छ। गम्भीर अवस्थामा उद्धार गरिएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
गणेशका दाजु मदन नेपालीका अनुसार उनी विगत दुई वर्षदेखि पठाओ चलाएर श्रीमती र एक छोरीसहितको परिवारको जीविकोपार्जन गर्दै आएका थिए। घटनाको जानकारी आफूलाई प्रहरीले फोनमार्फत दिएको उनले बताएका छन्।
घटनापछि काठमाडौंमा युवाहरूले प्रदर्शन गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्यायको माग गरेका छन्। माइतीघरबाट वीर अस्पतालतर्फ अघि बढेका प्रदर्शनकारीलाई भद्रकाली क्षेत्रमा सुरक्षा निकायले ब्यारिकेड गरी रोकेको थियो। प्रदर्शनका क्रममा केही सहभागीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।
घटनाको वास्तविक कारण र जिम्मेवारीबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ।






