बिश्वास सिलवाल ,धादिङ, असार २८
धादिङको निलकण्ठ नगरपालिका–३ र वडा नं. १२ लाई जोड्ने डुन्डुरी (थोपल) खोलामा खोला तर्ने क्रममा बगाउँदा १३ वर्षीया एक बालिकाको दुःखद मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार निलकण्ठ नगरपालिका–१२, दामगाडे निवासी १३ वर्षीया सृष्टि तामाङ साथीहरूसँग खोलो तर्ने क्रममा एक्कासी आएको पानीको बहावमा बगेकी थिइन्। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका थिए।
खोजीका क्रममा बालिकालाई घटनास्थलबाट करिब ५०० मिटर तल खोलाको बगर क्षेत्रमा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। बालिकाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनाका बेला उनीसँगै रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई कुनै शारीरिक क्षति नभएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ।
वर्षायाम सुरु भएसँगै खोलानाला तथा नदीहरूमा पानीको बहाव अत्यधिक बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। विशेष गरी बालबालिकालाई खोला तथा नदी तर्दा अभिभावकको निगरानीमा राख्न र जोखिमपूर्ण स्थानबाट आवतजावत नगर्न स्थानीय तह तथा सुरक्षा निकायले अनुरोध गरेका छन्।
यस दुःखद घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। बालिकाको असामयिक निधनप्रति स्थानीयवासीले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।






