धादिङ .३० असार २०८३
आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित आमाको माया छात्राबासलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा छात्राबासका अध्यक्ष डा. नवीन बन्धु पहाडीले सम्पदा लघुवित्तको टोलीलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सहयोगले छात्राबास सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै सम्पदा लघुवित्तका शाखा प्रमुख रोमन सिलवालले संस्थाका देशभर १५५ वटा शाखा सञ्चालनमा रहेको र धादिङमा ८ वटा शाखामार्फत सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो। उहाँले वित्तीय संस्थाले नाफामुखी कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्ने भएकाले वार्षिकोत्सवको अवसरमा छात्राबासलाई सहयोग गरिएको बताउनुभयो।
त्यसैगरी, धादिङ शाखाका हेमन्त भट्टले नीलकण्ठ नगरपालिका–४ मा रहेको शाखाले सोही वडाभित्र सञ्चालित आमाको माया छात्राबासलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। स्थानीय समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँको भनाइ थियो।
कार्यक्रममा आमाको माया छात्राबास व्यवस्थापन समितिका सदस्य कृष्ण बद्री पौडेलले व्यक्ति तथा संस्थाले आफ्नो आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्नु धार्मिक, नैतिक तथा सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सम्पदा लघुवित्तलाई धन्यवाद व्यक्त गर्नुभयो।
सम्पदा लघुवित्तले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा पनि सामाजिक सेवासँग जोड्दै असहाय तथा संरक्षणमा रहेका बालबालिकाको हितका लागि खाद्यान्न सहयोग गरेको जनाएको छ। स्थानीयस्तरमा संस्थाले गरेको यस कार्यको सहभागीहरूले प्रशंसा गरेका थिए।






