धादिङ, असार ३० ,२०८३
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका १३ वटै स्थानीय तहका १०४ वडामा रहेका लक्षित बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै नियमित खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिले सोमबार आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो।
जनस्वास्थ्य कार्यालय धादिङका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै नियमित खोप पाएको सुनिश्चित गरिएको छ। खोपबाट छुटेका बालबालिकालाई घरधुरी सर्वेक्षणमार्फत पहिचान गरी खोप उपलब्ध गराएपछि मात्र पूर्ण खोप सुनिश्चितताको प्रमाणीकरण प्रक्रिया सम्पन्न गरिएको कार्यालयले जनाएको छ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले सबै स्थानीय तह र वडामा लक्षित बालबालिकाले नियमित खोप पाएको सुनिश्चित भएपछि धादिङले पूर्ण खोप सुनिश्चित जिल्लाको मान्यता प्राप्त गरेको जानकारी दिए। उनले यो घोषणा अन्तिम उपलब्धि नभई आगामी दिनमा पनि नियमित र बुस्टर खोपबाट कुनै पनि बालबालिका नछुट्ने अवस्था कायम राख्नु नै मुख्य चुनौती भएको बताए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले खोप अभियान सफल बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनीहरूको योगदानको उचित मूल्याङ्कन गर्नुपर्ने धारणा राखे। स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यम, जनप्रतिनिधि र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।
प्रदेशसभा सदस्य मायादेवी शर्माले स्थानीय तह र स्वास्थ्य संस्थाले स्वास्थ्य क्षेत्रका आवश्यकता स्पष्ट रूपमा प्रस्तुत गरे प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। नियमित खोपको पहुँच कायम राख्न स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अझै महत्त्वपूर्ण रहने उनको भनाइ थियो।
धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले कुनै पनि बालबालिका खोपबाट नछुट्ने सरकारी नीति कार्यान्वयनमा धादिङका स्थानीय तह सफल भएको बताए। उनले स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन पालिकाबीच अनुभव आदानप्रदान र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले स्थानीय तहले घरदैलो स्वास्थ्य सेवा, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा नियमित खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए। पूर्ण खोप सुनिश्चितता स्थानीय तह, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साझा उपलब्धि भएको उनले उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्न सबै पक्षलाई आग्रह गरिन्। उनले मनसुनजन्य विपद्, सरुवा रोग तथा सम्भावित महामारीप्रति पूर्वतयारी गर्न स्थानीय तहलाई सचेतसमेत गराइन्।
कार्यक्रममा खोप अभियानमा उल्लेखनीय योगदान पुर्याउने स्वास्थ्य शाखा तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो। सहभागीहरूले पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि पनि प्रत्येक बालबालिकाले तोकिएको समयमा नियमित तथा बुस्टर खोप पाए–नपाएको निरन्तर अनुगमन गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।






