काठमाडौं, साउन २० — देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (बुधबार) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भू–भाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो।
बुधबार बिहानदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कञ्चनपुरको शान्तिपुर–बेलौरीमा सबैभन्दा बढी १२२ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, सिन्धुपाल्चोकको गोब्रेमा ११९.६ मिलिमिटर र सर्लाहीको मनुस्मारामा ८५.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। अन्य प्रदेशका धेरै स्थानमा पनि मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बुधबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।






