कृष्ण बद्री पौडेल  ,१९ साउन ,२०८३

कागज पहेंलिएको छ, मसी धमिलिएको छ, तर वि.सं. २०२३ सालको यो साधारण तिरो तिरेको रसिदमा लेखिएको इतिहास भने अझै जीवन्त छ। यो रसिद केवल मालपोत तिरेको प्रमाण मात्र होइन, बरु यो नेपालको भूमि व्यवस्था, शासन प्रणाली, सामाजिक संरचना र नागरिक पहिचानसम्मको लामो यात्रा बोकेको एउटा ऐतिहासिक दस्तावेज हो। यसले त्यो समयको राज्य, समाज र जनजीवनको गहिरो कथा भन्छ।

यस रसिदमा उल्लेखित ठेगानाले नेपालको प्रशासनिक र भौगोलिक विभाजनको कालखण्डलाई दुरुस्तै झल्काउँछ। २०२३/२४ सालतिर यो क्षेत्र “महेंद्र बराही कटुन्जे बजार गाउँ पञ्चायत” (धादिङ) को नाममा दर्ता थियो। पछि समयक्रमसँगै प्रशासनिक संरचना परिमार्जन हुँदै जाँदा वि.सं. २०७३ साल अघिसम्म यो भूभाग “कटुन्जे गाउँ विकास समिति (गा.वि.स.)” को रूपमा परिचित रह्यो। देश संघीय संरचनामा प्रवेश गरेपछि साविकका मार्पाक, सेमजोङ र कटुन्जे गा.वि.स.हरू एकापसमा गाभिएर आजको “नेत्रावती डबजोङ गाउँपालिका” बनेको छ। यसरी एउटै भूगोलले गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै वर्तमान गाउँपालिकासम्म पार गरेको यात्रा यस रसिदको ठेगानाले प्रस्ट पार्छ। सेमजोङ गा बि स २०३६ सालमा मात्र बनेको हो पहिला आधा मार्पाक र आधा कटुन्जे गा बि स मा थियो ।

रसिदमा जग्गाधनीको नामअघि “रैति” शब्द लेखिएको छ। राणा शासनदेखि पञ्चायती व्यवस्थासम्म सर्वसाधारणलाई सरकारी कागजातमा “रैति” अर्थात् राज्यको प्रजा भनेर सम्बोधन गरिन्थ्यो। वि.सं. २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुन:स्थापना  भएपछि सरकारी भाषामा “जनता” शब्दले व्यापकता पायो, जुन अझै पनि राजनीतिक अभिव्यक्तिमा  धेरै सुनिन्छ।  साधारण नेता देखि ठूलो नेता समसम्मले म जनताको सेवा गर्छु भन्छन् । २०७२ सालको नेपालको संविधानले स्पष्ट रूपमा “नागरिक” शब्दलाई संवैधानिक मान्यता दिएको छ। यसको अर्थ अब राज्यको केन्द्रमा अधिकारसहितको नागरिक छ, केवल शासनको अधीनमा रहेको रैति होइन।

त्यस समय तिरो बुझाउनु केवल राजस्व तिर्नु मात्र थिएन, यो जग्गामाथिको आफ्नो हक पुष्टि गर्ने महत्वपूर्ण आधार पनि थियो। त्यसैले पुराना पुस्ताले तिरोका रसिद, लालपुर्जा र अन्य कागजात अत्यन्त सुरक्षित राख्थे। आज पनि कतिपय पुराना जग्गा विवादमा यिनै रसिद अदालतमा प्रमाणका रूपमा पेश हुने गरेका छन्। नेपालमा राष्ट्रिय स्तरको नापी अभियान २०३२ सालदेखि सुरु  भएको हो । जग्गाको अभिलेख अहिलेजस्तो नक्सा र कित्ताका आधारमा थिएन। कोदाली दर्ता, फड्के दर्ता जस्ता स्थानीय प्रणाली प्रचलनमा थिए। रसिद मा पनि कोदाली दर्ता ,फड्के दर्ता उल्लेख छ  । सिमाना पनि पीपलको रुख, खोल्सा, ढुङ्गो, पाखो, कुलो वा बाटोलाई मानेर निर्धारण हुन्थ्यो र स्थानीय मुखिया, जिम्मावाल, अमिन र गाउँका पाका व्यक्तिहरू नै साक्षी हुन्थे।

आजका व्यवस्थित बस्तीमध्ये धेरै ठाउँ कुनै बेला घना जंगल थिए। स्थानीयले वन फडानी गरी खेतीयोग्य जमिन बनाउँथे र अरूले दाबी नगरून् भनेर सेउला, घाँस वा हाँगाबिँगा राखेर आफ्नो चिनो छोड्थे। त्यसपछि मात्र स्थानीय प्रशासनबाट दर्ता वा स्वीकृतिको प्रक्रिया अघि बढ्दथ्यो। नेपालको भूमि व्यवस्थामा मोही, रैकर, बिर्ता, गुठी, किपट, जागिर र बकस जस्ता विभिन्न प्रणाली प्रचलनमा थिए, जसले दशकौँसम्म आर्थिक र सामाजिक संरचनालाई प्रभावित गरे। धादिङको ज्यामरुङ र कटुन्जेमा रहेको श्री ५ को बायु गुठी आज पनि नेपालको गुठी व्यवस्थाको जीवित इतिहास हो भने गुठी नेपालको धेरै ठाउँमा छदै छ ,

जग्गाको नाप पनि समयसँगै बदलियो। पहाडी क्षेत्रमा जग्गा रोपनी, आना, दाम र पैसामा नापिन्छ भने  तराईमा बिघा, कठ्ठा र धुर प्रचलित छ , आज भने सरकारी अभिलेखमा वर्गमिटर पनि व्यापक रूपमा प्रयोग हुन थालेको छ। नापी हुनुभन्दा पहिले कतिपय ठाउँमा जग्गाको क्षेत्रफलभन्दा पनि उत्पादन क्षमताका आधारमा मूल्यांकन गरिन्थ्यो। “यो जग्गामा यति मुरी धान फल्छ” भन्ने आधारमा जमिनको मूल्य र महत्व निर्धारण हुन्थ्यो।  यति हल गोरु लाग्ने भनिन्थ्यो , भूमि प्रशासनले जग्गालाई खेत र पाखो, र त्यहाँ पनि अवल, दोयम, सिम र चाहार गरी वर्गीकरण गर्छ। सडक सञ्जाल विस्तारसँगै कालोपत्रे र कच्ची सडकले छोएको जग्गाको मूल्य र मालपोतमा पनि फरक पर्न थालेको छ।

भूमि प्रशासनमा लामो समयसम्म ९९ नम्बर फारामको प्रयोग विवरण सच्याउन वा स्वामित्व अद्यावधिक गर्न गरिन्थ्यो र धेरै पुराना जग्गाको कानुनी इतिहास यही फारामसँग जोडिएको भेटिन्छ। २०२३ सालको यो एउटा साधारण रसिदले धेरै महत्वपूर्ण प्रश्न उठाउँछ: रैतिबाट नागरिकसम्मको यात्रा कसरी तय भयो? कोदाली दर्ताबाट डिजिटल नापीसम्म आइपुग्दा के–के परिवर्तन भए? हाम्रा पूर्वजले जग्गाको स्वामित्व कसरी सुरक्षित राखे? पुराना रसिद र लालपुर्जाको ऐतिहासिक महत्व कति छ? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा नेपालको शासन प्रणाली र सामाजिक परिवर्तनको समृद्ध इतिहास खुल्दै जान्छ।

आज हामी डिजिटल नक्सा, अनलाइन मालपोत र कम्प्युटर प्रणालीको युगमा छौं, तर एउटा पुरानो तिरो रसिदले सम्झाइरहन्छ—इतिहास केवल दरबार, युद्ध र राजनीतिमा मात्र हुँदैन; इतिहास त एउटा पहेंलिएको कागजमा पनि लुकेको हुन्छ। यस्ता पुराना रसिद, लालपुर्जा, गुठीका अभिलेख र नापीका कागजातहरूको संरक्षण गर्न सकियो भने भविष्यका अनुसन्धानकर्ताका लागि ती अमूल्य सम्पत्ति बन्नेछन्, किनकि एउटा साधारण तिरो रसिदले पनि नेपालको सयौँ वर्षको भूमि इतिहास र प्रशासनिक रूपान्तरण बोल्न सक्छ।

लेखक स्वास्थ्यकर्मी मात्र नभएर २०५९ साल देखि २०७३ सालसम्म जनप्रतिनिधि बिहिन अवस्थामा गा बि स सदस्यको भूमिकामा र ६/७ वर्ष गाउँ पालिकाकाको सुचना अधिकारी समेत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0