बिश्वास सिलवाल ,धादिङ, साउन १८ ,२०८३

धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा अनुदान कार्यक्रममार्फत वितरण गरेको ‘सुनकागती’ बिरुवामा तीन वर्षपछि अपेक्षित जातको सट्टा बिमिरोजस्तो फल लाग्न थालेपछि स्थानीय किसान आक्रोशित बनेका छन्। किसानहरूले आफ्नो श्रम, समय र लगानी खेर गएको भन्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्तिको माग गरेका छन्।

गाउँपालिकाले ३ लाख रुपैयाँ बजेटबाट ६ हजार ६ सय ६६ वटा बिरुवा विभिन्न वडाका किसानलाई वितरण गरेको थियो। किसानका अनुसार गाउँपालिकाको विश्वासमा बिरुवा रोपी तीन वर्षसम्म मलजल, सिँचाइ र संरक्षण गरे पनि उत्पादन दिने समयमा फरक जातको फल लागेपछि व्यावसायिक खेतीको योजना प्रभावित भएको छ।

यता तत्कालीन कृषि शाखा प्रमुख कोमलप्रसाद जोशीले बिरुवा वितरणमा प्राविधिक त्रुटि भएको स्वीकार गर्दै सीमित बजेट, प्राविधिक बुझाइ र आपूर्ति प्रक्रियामा समन्वय अभावका कारण यस्तो समस्या भएको बताएका छन्। गाउँपालिकाले भने औपचारिक निवेदन प्राप्त भएपछि आवश्यक छानबिन गरी कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ। यस घटनाले कृषि अनुदान कार्यक्रमको गुणस्तर, पारदर्शिता र अनुगमन प्रणालीमाथि समेत प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0