धादिङ, साउन १८ — प्युठानको नौबहिनी गाउँपालिका–२ स्थित पूर्तिबाङको मास्बिर सामुदायिक वनबाट प्रहरीले ठूलो परिमाणमा अवैध भरुवा बन्दुक र तिनका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोली नियमित गस्तीमा रहेका बेला वनभित्र पातले छोपेर सावधानीपूर्वक लुकाइराखिएको अवस्थामा हतियारहरू फेला परेका हुन्। बरामद गरिएका सामग्रीमध्ये १८ थान साबुत भरुवा बन्दुक र १४ थान बेसाबुत भरुवा बन्दुक रहेका छन्। यसका साथै ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार हतियार कसले, कहिले र कुन उद्देश्यका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनास्थलबाट बरामद भएका सबै सामग्री सुरक्षित रूपमा नियन्त्रणमा लिइएको र त्यसको स्रोत तथा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको जनाएको छ।

वन क्षेत्रमा यसरी ठूलो संख्यामा अवैध हतियार फेला परेपछि सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले यस घटनासँग सम्बन्धित थप विवरण अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0