काठमाडौं । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो सूर्यग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, उत्तर आन्ध्र महासागर तथा स्पेन र पोर्चुगलका केही भूभागबाट देखिनेछ। तर, नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन।

नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान गरिएको छ। उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक सूर्यग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्।

यो ग्रहण चन्द्रमाको छाया उत्तरी रुसबाट अघि बढ्दै ग्रिनल्यान्ड, आइसल्यान्ड र उत्तर आन्ध्र महासागर हुँदै युरोपतर्फ सर्ने क्रममा देखिनेछ। पूर्ण ग्रहणको मार्ग स्पेनसम्म पुग्नेछ।

पूर्ण खग्रास ग्रहणका क्रममा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार अधिकांश स्थानमा पूर्ण ग्रहणको अवधि दुई मिनेटभन्दा कम हुनेछ। केही स्थानमा भने दुई मिनेटभन्दा केही बढी समयसम्म पूर्ण ग्रहण देखिन सक्नेछ।

स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहरबाट पूर्ण सूर्यग्रहण देखिनेछ। नासाको विवरणअनुसार लियोनमा स्थानीय समयअनुसार साँझ ८ः२८ बजे पूर्ण ग्रहण सुरु भई करिब दुई मिनेटसम्म रहनेछ।

त्यस्तै, आइसल्यान्डको राजधानी रेक्जाभिकबाट स्थानीय समयअनुसार साँझ करिब ५ः४८ बजे पूर्ण ग्रहण सुरु हुनेछ।

खग्रास सूर्यग्रहणलाई दुर्लभ खगोलीय घटनाका रूपमा लिइन्छ। यस्तो अवस्थामा चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आएर सूर्यलाई पूर्ण रूपमा ढाक्दा केही समयका लागि दिनमै रातजस्तो अँध्यारो वातावरण सिर्जना हुन्छ।

नेपालबाट भने यसपटकको पूर्ण खग्रास सूर्यग्रहण प्रत्यक्ष अवलोकन गर्न सकिने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0