Photo : AI Generated

धादिङ । धादिङ जिल्ला अदालत बार एसोसिएसनले आफ्नो पेशागत क्षेत्रमा विकृति र विसङ्गति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। बार एसोसिएसन धादिङको ३८औँ साधारण सभा तथा २१औँ अधिवेशनमा तत्कालीन सचिव रामकृष्ण अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा अदालत परिसरमा सेवाग्राही तानातान गर्ने प्रवृत्तिदेखि पूर्णकालीन जागिरसँगै वकालत गर्ने अवस्थासम्मका विषय उठाइएको हो।

२०८३ श्रावण २३ गते बेनीघाट गाउँपालिका–८, चैलुङमा सम्पन्न अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा पछिल्लो ८–१० वर्षयता धादिङको वकालत क्षेत्रमा पेशागत मर्यादा कमजोर बन्दै गएको उल्लेख गरिएको छ। अदालतको मुख्य गेट आसपास केही कानुन व्यवसायीले सेवाग्राहीलाई ‘म गरिदिन्छु, म मिलाइदिन्छु’ भन्दै तानातान गर्ने गरेको आरोप प्रतिवेदनमा छ।

प्रतिवेदनले कानुनको डिग्री वा कानुन व्यवसायीको प्रमाणपत्र मात्र पर्याप्त नभई उच्च नैतिकता, पेशागत आचरण र मानवीय संवेदना आवश्यक रहेको उल्लेख गरेको छ। कानुन व्यवसायलाई केवल जीविकोपार्जनको माध्यम नभई न्याय स्थापना र असहायलाई न्याय दिलाउने जिम्मेवार पेशाका रूपमा लिनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, विभिन्न स्थानीय तह वा अन्य निकायमा पूर्णकालीन रूपमा कार्यरत व्यक्तिहरूले नियमित तलब–भत्ता लिँदै अदालतमा समेत वकालत गरिरहेको विषयलाई प्रतिवेदनले गम्भीर बेथितिका रूपमा उठाएको छ। यस्तो दोहोरो भूमिकाले पूर्णकालीन र निष्ठावान् कानुन व्यवसायीको अधिकार प्रभावित हुनुका साथै पेशाको प्रतिष्ठामाथि समेत प्रश्न उठाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा जिल्ला कानुनी सहायता समितिको व्यवस्थापन र सञ्चालनबारे पनि प्रश्न उठाइएको छ। बारको भवनमा कानुनी सहायता समितिको कार्यालय रहेको तथा त्यसको कर्मचारी नियुक्ति, तलब र अनुगमनको विषयमा स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै कार्यालयलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।

बार एसोसिएसनले पेशागत आचारसंहिता उल्लङ्घन, सेवाग्राही तानातान गर्ने प्रवृत्ति तथा पूर्णकालीन जागिरसँगै वकालत गर्ने अवस्थामाथि आवश्यक छानबिन र कारबाही गर्नुपर्नेमा जोड दिएको छ। अदालतभित्र देखिएका विकृति र विसङ्गतिविरुद्ध बारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता पनि प्रतिवेदनमा औँल्याइएको छ।

प्रतिवेदनले धादिङको वकालत क्षेत्रको साख पुनःस्थापित गर्न निष्ठावान् कानुन व्यवसायीहरू संगठित हुँदै पेशागत शुद्धीकरण अभियान अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। पेशागत मर्यादा, आचारसंहिता र कानुनको पालना सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ।

नोट: माथिका विषयहरू बार एसोसिएसन धादिङको अधिवेशनमा सचिव रामकृष्ण अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेखित विषयवस्तुका आधारमा तयार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0