धादिङ , २ भाद्र ,२०८३

ज्वालामुखी गाउँपालिका–४ र नीलकण्ठ नगरपालिका–८ को सीमामा पर्ने धौखोलामा साउन २९ गते राति परेको अविरल वर्षापछि आएको बाढीले कजवे बगाउँदा स्थानीयको आवतजावत प्रभावित भएको छ। हेमपाइप थुनिएपछि खोलामा पानीको बहाव बढेर कजवे बगाउनुका साथै नीलकण्ठ नगरपालिका–८ तर्फ रहेको  गोमा नहर्की परिवारको घरमा समेत क्षति पुगेको छ।

बाढीले सडकसँगै राखिएका हेमपाइपहरू समेत विस्थापित गरेको छ। खोलाको बहाव तीव्र रहेकाले अहिले उक्त स्थान जोखिमपूर्ण अवस्थामा रहेको स्थानीयले बताएका छन्।

बाढीपछि स्थानीय आवतजावत सहज बनाउन बनाइएको काठे पुल हेर्दा मोटरसाइकलसमेत आवतजावत गर्न मिल्ने गरी बनाइएको होला भन्ने अनुमान गर्न सकिए पनि स्थलगत निरीक्षणका क्रममा मान्छे हिँड्नसमेत कठिन हुने अवस्था देखिएको छ। पुल साँघुरो हुनुका साथै दुवैतर्फ पर्याप्त सुरक्षा व्यवस्था नहुँदा सामान्य पैदलयात्रुसमेत जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ।

आज त्रिकोण खबरको  टोलीले धौखोलाको स्थलगत अवलोकन गर्दा काठे पुल निर्माणमा आवश्यक सावधानी नअपनाइएको देखिएको हो। स्थानीयका अनुसार पुलको छेउमा कम्तीमा बाँसको बार वा अन्य सुरक्षा घेरा राखिएको भए पनि पैदलयात्रुको जोखिम केही कम गर्न सकिन्थ्यो।

“मोटरसाइकल हिँड्न मिल्ने पुल होला भनेर सोचेका थियौँ, तर मान्छे हिँड्न पनि कठिन रहेछ,” स्थानीयले गुनासो गर्दै भने, “कम्तीमा छेउमा बाँसको बारसम्म राखिदिएको भए पनि सुरक्षित महसुस हुन्थ्यो।”

धौखोलाको यो अवस्था केवल तत्कालीन आवतजावतको समस्या मात्र नभई वर्षायाममा स्थानीय बस्ती र पूर्वाधारको सुरक्षासँग जोडिएको विषय बनेको छ। खोलामा पुनः ठूलो वर्षा भएमा बाँकी संरचनासमेत जोखिममा पर्न सक्ने स्थानीयको चिन्ता छ।

त्यसैले सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायले बाढीबाट क्षतिग्रस्त कजवे र हेमपाइपको तत्काल व्यवस्थापन गर्नुका साथै हाल प्रयोगमा रहेको काठे पुललाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक देखिन्छ। कम्तीमा पैदलयात्रुको सुरक्षाका लागि दुवैतर्फ बलियो बार राख्ने र दीर्घकालीन रूपमा सुरक्षित आवतजावत हुने गरी पुल तथा कजवे निर्माण गर्न स्थानीयले माग गरेका छन्।

धौखोलाको यो दृश्यले वर्षायाममा पूर्वाधार निर्माण गर्दा ‘बनाउने मात्र होइन, सुरक्षित र टिकाउ बनाउने’ विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0