काठमाडौं ,४ भाद्र ,२०८३

नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा देशभर सञ्चालनमा रहेका आँखा इकाइहरूको हिजो एकदिने समीक्षा गोष्ठी सम्पन्न भएको छ।

तिलगङ्गा आँखा प्रतिष्ठान र स्थानीय तहको सहकार्यमा देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका करिब ६० वटा आँखा इकाइका नेत्र सहायक तथा सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागितामा गोष्ठी आयोजना गरिएको हो।

गोष्ठीमा आँखा स्वास्थ्य कार्यक्रमको अवस्था, उपलब्धि तथा चुनौतीका विषयमा समीक्षा गर्नुका साथै सहभागीहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरेका थिए। आगामी दिनमा आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी कार्ययोजना तथा लक्ष्यसमेत निर्धारण गरिएको थियो।

कार्यक्रममा विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा आँखा इकाइका इन्चार्जहरूले आफ्नो क्षेत्रको सेवा प्रवाह, बिरामीको अवस्था, कार्यक्रमको प्रगति तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए।

समीक्षाका क्रममा आँखा इकाइमा आउने बहिरंग (ओपीडी) बिरामीको संख्याका आधारमा उत्कृष्ट १० इकाइमध्ये धादिङको गजुरी आँखा इकाइ पहिलो स्थानमा परेको पाइएको छ। त्यसैगरी धुनीबेँसी आँखा इकाइ पनि धेरै ओपीडी बिरामी आउने उत्कृष्ट १० इकाइभित्र परेको जनाइएको छ।

कार्यक्रमका विषयमा गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो , उहाँका अनुसार गोष्ठीले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेका आँखा स्वास्थ्य कार्यक्रमको समीक्षा, अनुभव आदानप्रदान तथा आगामी योजना निर्माणका लागि महत्वपूर्ण अवसर प्रदान गरेको छ।

देशभरका आँखा इकाइका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिताले आँखा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0