बिश्वास सिलवाल ,धादिङ ,१७ भाद्र ,२०८३

बाढी–पहिरोले घरबारदेखि जनजीवनसम्म प्रभावित बनाइरहेका बेला धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसले राहत र शिक्षालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। क्याम्पसले विपद् प्रभावितका लागि रु. ३ लाख २१ हजार सहयोग गर्ने र प्रभावित विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने निर्णय गरेको हो।

क्याम्पसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले क्याम्पसले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराउन लागेको हो।

क्याम्पसको पहलको अर्को महत्वपूर्ण पक्ष प्रभावित विद्यार्थीको पढाइसँग जोडिएको छ। बाढी–पहिरोका कारण आर्थिक रूपमा प्रभावित परिवारका विद्यार्थीको अध्ययन शुल्क तिर्न नसक्ने अवस्था आउन सक्ने भन्दै क्याम्पसले त्यस्ता विद्यार्थीलाई निःशुल्क अध्यापनको व्यवस्था गर्ने निर्णय गरेको हो।

गत १० गते आएको भीषण बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। सडक तथा पुलमा क्षति पुगेको छ भने घर तथा अन्य भौतिक संरचना बगाउँदा र क्षतिग्रस्त हुँदा धेरै परिवार विस्थापित भएका छन्। कतिपय प्रभावित क्षेत्रमा यातायात तथा सञ्चार सेवा अझै सहज हुन सकेको छैन।

विपद्को समयमा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णयसँगै प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिने क्याम्पसको कदमले ‘विपद्मा राहत मात्र होइन, भविष्य जोगाउने जिम्मेवारी पनि आवश्यक छ’ भन्ने सन्देश दिएको छ।

नीलकण्ठ बहुमुखी क्याम्पसले गरेको यो पहलले शैक्षिक संस्था समुदायबाट अलग नभई संकटका बेला समुदायसँगै उभिनुपर्ने दायित्वलाई व्यवहारमै देखाएको छ। विपद् प्रभावित नागरिकका लागि सहयोग जुटाउनुपर्ने र विद्यार्थीको पढाइ रोक्न नहुने अवस्थामा क्याम्पसको निर्णयलाई धादिङमा सराहनीय तथा अनुकरणीय पहलका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0