बद्री पौडेल ,धादिङ ,१७ भाद्र ,२०८३

रसुवा जिल्लास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै धादिङबेसीस्थित सुनगाभा एकेडेमीले राहत तथा शैक्षिक सहयोगको घोषणा गरेको छ।

नीलकण्ठ नगरपालिका–३ मा सञ्चालित सुनगाभा एकेडेमीले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १११ रुपैयाँ सहयोग गरेको हो। विद्यालयले विद्यार्थी, शिक्षक–कर्मचारी तथा संस्थाको तर्फबाट उक्त रकम सहयोग गरेको जनाएको छ।

विद्यालयले बाढीका कारण आमाबुवा वा अभिभावक गुमाई आर्थिक तथा पारिवारिक कठिनाइमा परेका धादिङ जिल्लाका प्रभावित विद्यार्थीलाई कक्षा ५ सम्म वार्षिक तथा मासिक शुल्क पूर्ण रूपमा मिनाहा गरी निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने निर्णयसमेत गरेको छ।

विद्यालयद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपद्का कारण प्रभावित परिवारको पीडामा साथ दिँदै राहत, सहयोग तथा पुनःस्थापनाका प्रयासमा आफ्नोतर्फबाट सक्दो योगदान पु¥याउने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख छ।

विद्यालयले विपद्मा परेका परिवारको दुःखमा मलम लगाउन, प्रभावित बालबालिकालाई शिक्षाको पहुँचबाट वञ्चित हुन नदिन तथा कठिन परिस्थितिमा आशा र सहारा प्रदान गर्नु सबैको साझा मानवीय दायित्व भएको जनाएको छ।

सुनगाभा एकेडेमीले “दुःखमा साथ, विपद्मा सहयोग र कठिन समयमा आशा प्रदान गर्नु नै मानवताको वास्तविक परिचय हो” भन्ने सन्देशसहित राहत तथा सहयोगका कार्यक्रम अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0