धादिङबेसी । १७ भदौ ,
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहतका लागि धादिङ मुस्लिम समुदाय र मदरसा हनफिया रजवियाको संयुक्त आह्वानमा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
समुदाय र मदरसाको संयुक्त पहलमा संकलित रु. १ लाख ३४ हजार २०१ रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा सोझै जम्मा गरिएको हो।
बाढी तथा विपद्बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी सरकारी राहत कोषमा जम्मा गरिएको धादिङ मुस्लिम समुदाय परिवार, धादिङबेसी ले जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले समुदायका सदस्य तथा मदरसासँग आबद्ध व्यक्तिहरूको सहयोगबाट रकम संकलन गरिएको बताइएको छ।
धादिङ मुस्लिम समुदायले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ।








