धादिङ ,१७ भाद्र ,२०८३

गोसाइँकुण्ड तीर्थयात्राका क्रममा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ। काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) बाट प्राप्त जानकारीअनुसार बेपत्तामध्ये १० जनाको शव पहिचान भएको हो।

एउटै बसमा रहेका २६ जनामध्ये नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल, रामचन्द्र खनाल तथा नीलकण्ठ–९ की गायत्री लम्सालको शव पहिचान भएको जनाइएको छ।

गायत्री लम्सालको शव सोमबार पहिचानपछि धादिङबेसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको थियो। अन्य पाँच जनाको शव बुधबार काठमाडौंस्थित टिचिङ अस्पतालमा पहिचान भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको काठमाडौंस्थित स्रोतबाट जानकारी प्राप्त भएको छ।

त्यसैगरी बाढीपछि सम्पर्कविहीन रहेका सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, विनुदा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्टको शवसमेत टिचिङ अस्पतालबाट पहिचान भएको बताइएको छ।

पारिवारिक स्रोतबाट प्राप्त जानकारीअनुसार हरिप्रसाद सिलवाल र विनुदा सिलवालको शव च्याडुमा अन्तिम दाहसंस्कार गरिएको बुझिएको छ। घनश्याम भट्ट र कल्पना भट्टको भने काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको जनाइएको छ।

भाद्र १० गते भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको भीषण बाढीले धादिङसहित रसुवा र नुवाकोटमा ठूलो मानवीय क्षति पुर्‍याएको थियो। गोसाइँकुण्ड तीर्थयात्राका लागि धादिङबाट गएको समूह नै बाढीको चपेटामा परेपछि एउटै परिवार र आफन्तका धेरै सदस्यले ज्यान गुमाएका छन् भने केही अझै सम्पर्कविहीन छन्।

बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता हुनेमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल  एउटै घरका  तीन दाजुभाइ  र श्रीमतीहरु हुन जुन एक पुस्ता नै हो । साथै सवारीधनी एवं चालक छबिलाल श्रेष्ठ रहेका छन्।

नीलकण्ठ–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राखिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्यारी लम्साल रहेका छन्।

त्यस्तै सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, विनुदा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिना पनि उक्त यात्रामा रहेका थिए।

भोटेकोशीको बाढीमा आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइ गुमाएपछि धादिङ शोकमा डुबेको छ। तीर्थयात्राका लागि घरबाट निस्किएका आफ्नै परिवारका सदस्यहरू विपद्मा परेपछि गाउँ–समाजमा समेत गहिरो पीडा र सन्नाटा छाएको छ। साथै नीलकण्ठ नगरपालिकाका ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको घटनाप्रति शोक व्यक्त गर्दै नीलकण्ठ नगरपालिकाले भोलि भाद्र १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विपद्को यस कठिन घडीमा शोकाकुल परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले बाढीमा परी बेपत्ता भएका नगरवासीको खोज तथा उद्धार र मृतकको अन्तिम संस्कारमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ।

बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0