बद्री पौडेल धादिङ , १८ भाद्र ,२०८३
धादिङको शैक्षिक तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी साहसिक महिला ईश्वरी रिजाल तिमल्सिना अब सम्झनामा मात्र सीमित भएकी छन्। भदौ १० गते आएको अकल्पनीय तथा भीषण बाढीले उनको जीवन नै खोसेको छ। दुःखद् संयोग, सोही बाढीमा उनका श्रीमान् तुलसी तिमल्सिनाको समेत निधन भएको छ।
झन्डै नौ बहिनीमध्येकी सबैभन्दा कान्छी तथा धर्मराज रिजालकी कान्छी छोरी ईश्वरी लामो समय शिक्षण पेसामा सक्रिय थिइन्। तत्कालीन रत्नदेवी प्राथमिक विद्यालय, कुमालगाउँकी प्रधानाध्यापकका रूपमा लामो समय सेवा गरेकी उनी पछि बालमन्दिर माध्यमिक विद्यालयबाट शिक्षक सेवाबाट निवृत्त भएकी थिइन्।
ईश्वरीको परिचय शिक्षकमा मात्र सीमित थिएन। करिब २०६४/६५ सालतिर धादिङमा मोटरसाइकल चलाउने क्रम विस्तार हुँदै गर्दा महिलाले मोटरसाइकल चलाउनु अझै सामान्य भइसकेको थिएन। त्यही समयमा ईश्वरीले मोटरसाइकल सिकेर चलाउन थालेकी थिइन्। धादिङ आसपासमा त्यतिबेला उनी मोटरसाइकल चलाउने पहिलो पुस्ताकी महिलामध्ये एक भएको उनलाई चिन्नेहरू बताउँछन्।
मोटरसाइकल सिक्न खोज्दा सुरुमा उनलाई पनि सजिलो थिएन। तर उनीसँगै सिक्ने धेरैले आज पनि एउटा प्रसंग सम्झिन्छन्—‘महिला मान्छेले सरर मोटरसाइकल चलाएर हिँडेको छ, पुरुष भएर डराउने?’ भन्ने अरूको भनाइले आफूहरूलाई समेत आँट आएको उनीहरू बताउँछन्। ईश्वरीलाई हेरेर र उनको साहसबाट प्रभावित भएर धेरै पुरुषले समेत मोटरसाइकल चलाउन सिकेको स्थानीयहरू सम्झन्छन्।
त्यो समयका लागि ईश्वरीको मोटरसाइकल यात्रा केवल व्यक्तिगत रुचि थिएन, सामाजिक सोचमा रहेको एउटा अदृश्य सीमालाई तोड्ने साहस पनि थियो। महिलाले पनि आत्मविश्वासका साथ मोटरसाइकल चलाउन सक्छन् भन्ने उदाहरण उनले आफ्नै व्यवहारबाट प्रस्तुत गरेकी थिइन्।
शिक्षण पेसामा रहँदा पनि उनी सरल र जिम्मेवार व्यक्तिका रूपमा परिचित थिइन्। लामो समय विद्यालयको नेतृत्व गरेकी ईश्वरीले थुप्रै विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याइन्। बालमन्दिर माध्यमिक विद्यालयबाट निवृत्त भएपछि पनि उनको सामाजिक सम्बन्ध र सक्रियता कायमै थियो।
ईश्वरी तुलसी तिमल्सिनाकी धर्मपत्नी हुन्। उनीहरूका एक छोरा र एक छोरी छन्। तर भदौ १० गते आएको भीषण बाढीले परिवारमाथि अकल्पनीय बज्रपात गर्यो। एउटै विपद्मा श्रीमान्–श्रीमती दुवै गुमाउँदा परिवार शोकमा डुबेको छ।
एक समय ‘महिला भएर पनि सरर मोटरसाइकल चलाएर हिँड्ने’ ईश्वरीको साहसलाई हेरेर अरूले आफ्नो डर जितेका थिए। आज त्यही साहसी महिला भने प्रकृतिको अकल्पनीय प्रकोपसँगै अस्ताएकी छन्।
उनको निधनसँगै धादिङले एउटी शिक्षिका मात्र होइन, आफ्नो समयभन्दा अगाडि सोच्ने र व्यवहारमै साहस देखाउने एक अग्रणी महिला गुमाएको छ। ईश्वरीको मोटरसाइकलको त्यो साहस, विद्यालयमा बिताएका वर्षहरू र उनको सरल व्यक्तित्व अब उनलाई चिन्नेहरूको स्मृतिमा लामो समयसम्म जीवित रहनेछ।






