धादिङ । गोरखाको चुमनुब्री गाउँपालिका–२ र ४ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार घर र एउटा झोलुंगे पुल बगाएको छ।
गएराति करिब ३ बजेतिर अचानक आएको बाढीले नाम्रुङका नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको प्रहरीले जनाएको छ।
बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आउन थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएका थिए।
झोलुंगे पुलसमेत बगाएपछि मनास्लु पदयात्रामा रहेका पर्यटक तथा स्थानीयलाई आवतजावतमा समस्या हुने भएको छ।
थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीका कारण तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।






