म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार मनकुमारीलाई उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले भदौ २२ गते बिहान करिब ११ः३० बजे धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारपछि बरुवाल घटनास्थलबाट फरार भएका थिए।
घटना भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरी फरार व्यक्तिको खोजी तथा अनुसन्धान सुरु गरिएको थियो।
खोजतलासका क्रममा प्रहरीले बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन तथा घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






