धादिङ ,२०८३ भाद्र २७

नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीमा रहेको भैरबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कार्यसमिति सदस्य नवराज शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार अधिवक्ता विष्णुकुमार श्रेष्ठलगायतको उपस्थिति थियो।

वि.सं. २०५७ साल चैत २४ गते स्थापना भएको भैरबी बचत तथा ऋण सहकारीमा हाल महिला १ हजार ५ सय ९४ र पुरुष १ हजार ४ सय २९ गरी ३ हजार २६ शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी ३ करोड ३० लाख ३९ हजार ६ सय रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ३४ करोड ८८ लाख ५१ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। संस्थाले ८४ लाख ४४ हजार ५ सय ७४ रुपैयाँ कुल नाफा आर्जन गरेको जनाएको छ।

संस्थाका महासचिव राजकुमार श्रेष्ठका अनुसार साधारण सभाका अवसरमा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ। त्यसैगरी शेयर सदस्यलाई चिट्ठामार्फत तेल वितरण गर्नुका साथै शेयर थप गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको उहाँले बताउनुभयो।

भैरबी सहकारीले आफ्ना शेयर सदस्यलाई लक्षित गरी मोबाइल बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ। वर्षमा ३६५ दिन नै काउन्टरबाट सेवा प्रदान गर्दै आएको संस्थाले शेयर सदस्यलाई उपचार खर्चबापत ५० हजार रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था गरेको छ। शेयर सदस्यको निधन भएमा मृतक शेयर सदस्य तथा परिवारलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउँदै आएको जनाएको छ।

सहकारी धादिङ जिल्लामा सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्थाका रूपमा रहेको जनाएको छ। सदस्यको आर्थिक हितसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको संस्थाले आगामी दिनमा सेवा थप विस्तार गर्ने जनाएको छ।

सभाका क्रममा यही भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मौनधारण गरिएको थियो। बाढीमा परी ज्यान गुमाएका आफ्ना शेयर सदस्य तथा अन्य नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0