धादिङ, २७ भदौ ,२०८३
भोटेकोसीमा आएको हिमपहिरोसहितको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। अस्पताल सरसफाइपछि सेवा सुरु गरिएसँगै स्थानीयवासीलाई लक्षित गरी दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरसमेत सुरु भएको हो।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा सुरु भएको शिविरमा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्य तथा गल्छी गाउँपालिकाको स्थानीय सहयोग रहेको छ।
शिविरको पहिलो दिन ५९ जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्। अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाका अनुसार सेवा लिनेमा ३१ महिला र २८ पुरुष छन्।
शिविरमा जनरल फिजिसियन डा. दीपक सुन्दर श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. सरिता सिटौला, मानसिक रोग विशेषज्ञ डा. प्रज्वल थापा र हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीले स्वास्थ्य परीक्षण तथा परामर्श दिइरहेका छन्।
बाढीपछि अस्पताल नै प्रभावित हुँदा स्वास्थ्य उपचारमा समस्या झेलिरहेका स्थानीयवासीले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउन थालेपछि राहत महसुस गरेका छन्। शिविरमा आउने बिरामीलाई स्वास्थ्य कार्डसमेत वितरण गरिएको छ।
शिविरको शुभारम्भ गर्दै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले विपद्का बेला नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिविर सञ्चालन गर्नु महत्वपूर्ण रहेको बताए। उनले अस्पताल पुनः सञ्चालन तथा विपद्पछि स्वास्थ्य सेवा सहज बनाउन सहयोग गर्ने अन्तर्राष्ट्रिय धादिङ समाजसहित सबै सहयोगी संस्थालाई धन्यवाद दिए।
उनले विपद्का समयमा विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगको गाउँपालिकाले मूल्यांकन गरिरहेको समेत बताए।
अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाइ काजी तिवारी, वडा नम्बर ६ का अध्यक्ष दीपक कार्की, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सीताराम अधिकारी, बैरेनी अस्पतालका प्रमुख डा. मधुकर दाहाल, अन्तर्राष्ट्रिय धादिङ समाजकी प्रसुना कँडेल, इन्सेकका वरिष्ठ अधिकृत तथा सूचना अधिकारी कृष्ण गौतम, बागमती प्रदेश संयोजक शिव खकुरेललगायतको उपस्थिति थियो।
बाढीबाट क्षतिग्रस्त अस्पतालमा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुनुका साथै विशेषज्ञ चिकित्सकको निःशुल्क सेवा उपलब्ध भएपछि उपचारका लागि टाढा जानुपर्ने स्थानीयवासीको बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।






