धादिङ । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका सिद्धलेक गाउँपालिका–१, धादिङका रूवी भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि (युवा) तर्फ उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले नीलकण्ठ माध्यमिक विद्यालय इकाईको उपाध्यक्ष तथा नीलकण्ठ उच्च माध्यमिक विद्यालय इकाईको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसपछि उनले नेपाल विद्यार्थी संघ धादिङ निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्षका रूपमा समेत काम गरेका थिए।
कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भट्टराई बागमती प्रदेश महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए। संगठनभित्र विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका भट्टराई यसपटक १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएसँगै महाधिवेशन प्रतिनिधि (युवा) तर्फ उम्मेदवार बनेका हुन्।
युवाको सक्रिय सहभागिता, पार्टी संगठनको सुदृढीकरण तथा कांग्रेसभित्र नयाँ पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी दिएको भट्टराईले बताएका छन्।
विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरी पार्टीको मूलधारको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराईले १५औँ महाधिवेशनलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। उनले युवा पुस्ताको आवाजलाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0