धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा आदिवासी जनजाति महिला क्लस्टरतर्फ सरिता रानाले उम्मेदवारी दिएकी छन्।

आजदेखि मतदान प्रक्रिया सुरु हुँदै गर्दा रानाले पार्टीभित्रको लोकतान्त्रिक विधिबाट आफू पुनः निर्वाचनको मैदानमा उभिएको बताएकी छन्।

सानै उमेरदेखि नेपाली कांग्रेसको चारतारे झण्डा समाउँदै राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै रानाले कांग्रेसको विचार र संगठनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको बताइन्। राजनीतिक यात्राका क्रममा कठिन परिस्थिति, सामाजिक पीडा र व्यक्तिगत अवसरको त्याग गर्नुपरे पनि आफूले विचार र संगठनको बाटो नछोडेको उनको भनाइ छ।

पार्टी तथा संगठन निर्माणको क्रममा विभिन्न भ्रातृ संस्थामा रहेर काम गर्दा भोक–तिर्खा र पारिवारिक समयसमेत बिर्सिएर संगठनका लागि खटिएको उनले बताएकी छन्। व्यक्तिगत स्वार्थभन्दा संगठनलाई प्राथमिकतामा राखेर बिताएका वर्षहरू नै आफ्नो राजनीतिक यात्राको सबैभन्दा ठूलो पूँजी भएको रानाको भनाइ छ।

“अझै काम गर्ने हुटहुटी छ, ऊर्जा छ, जिम्मेवारी सम्हाल्ने अठोट छ,” रानाले भनेकी छन्, “समृद्ध र सबल कांग्रेस निर्माण गर्दै भोलि समग्र धादिङको समृद्धिको यात्रामा योगदान गर्ने मेरो संकल्प छ।”

रानाले आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासका रूपमा लिँदै धादिङ क्षेत्र नं. २ का आदरणीय क्षेत्रीय प्रतिनिधिहरूसँग मत र समर्थनका लागि आग्रह गरेकी छन्।

उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिला क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि पदमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन अनुरोध गरेकी छन्।

“तपाईंको एउटा मत केवल उम्मेदवारलाई होइन, वर्षौंको त्याग, संघर्ष र निरन्तर राजनीतिक यात्रालाई दिने विश्वास हुनेछ,” रानाले अपिल गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0