बिश्वास सिलवाल ,धादिङ ,२०८३ असोज २०

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा Youth Red Cross Circle को आयोजनामा सञ्चालित चार दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको तालिममा क्याम्पसमा अध्ययनरत २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

तालिममा विद्यार्थीहरूलाई आकस्मिक दुर्घटना, चोटपटक तथा विभिन्न विपद्का समयमा आवश्यक पर्ने प्राथमिक उपचारका आधारभूत सीप तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। विपद् वा जोखिमपूर्ण अवस्थामा घाइतेलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिमको समापन कार्यक्रममा बोल्दै Youth Red Cross Circle नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष सन्दीप रिजालले तालिमबाट प्राप्त ज्ञान र सीपले विद्यार्थीहरूलाई आगामी दिनमा आइपर्न सक्ने विभिन्न विपद् तथा जोखिमपूर्ण परिस्थितिमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूले आफूले सिकेको प्राथमिक उपचारसम्बन्धी ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै समुदायमा समेत आवश्यक सहयोग पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै व्यवहारिक तथा बाहिरी ज्ञान पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा विद्यार्थीहरूमाझ सञ्चालन गरिरहनुपर्नेमा जोड दिँदै क्याम्पसले आगामी दिनमा पनि विद्यार्थीको क्षमता र सीप विकास गर्ने कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

क्याम्पस प्रमुख अधिकारीले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञान मात्र नभई जीवनमा आवश्यक पर्ने व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य क्याम्पसको रहेको उल्लेख गर्नुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै विपद् तथा आपत्कालीन अवस्थामा तत्काल निर्णय लिन र सहयोग गर्न सक्षम बनाउने उहाँको भनाइ थियो।

चार दिनसम्म सञ्चालन भएको तालिममा सहभागी विद्यार्थीहरूले प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेका छन्। तालिमको समापनसँगै सहभागी विद्यार्थीहरूलाई आगामी दिनमा क्याम्पस तथा समुदायमा आवश्यक पर्दा प्राथमिक उपचार र मानवीय सेवामा सक्रिय रूपमा परिचालन गर्न सकिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0