बद्री पौडेल ,धादिङ ,२०८३ असोज २२ गते

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैं २०८३ को अवसर पारेर नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले नवरात्र, विजयादशमी, टीका तथा दशैंको धार्मिक एवं सांस्कृतिक महत्वबारे प्रवचन कार्यक्रम सम्पन्न गरेको छ।

नीलकण्ठ नगरपालिकाअन्तर्गत रहेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बद्री दाहालको अध्यक्षतामा भएको हो। कार्यक्रममा पण्डित नारायणप्रसाद ढकालले बडादशैंको धार्मिक महत्व, नवरात्रमा गरिने पूजा–आराधना, विजयादशमीको टीका तथा जमरा र टीका लगाउँदा दिइने आशीर्वचनको अर्थबारे प्रवचन दिनुभएको थियो।

प्रवचनका क्रममा पण्डित ढकालले दशैं केवल टीका र जमरा लगाउने पर्व मात्र नभई यससँग गहिरो धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक मान्यता जोडिएको बताउनुभयो। नवरात्रका नौ दिन देवीका विभिन्न स्वरूपको आराधना गर्ने परम्परा, विजयादशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चलन र त्यस अवसरमा दिइने आशीर्वादको धार्मिक अर्थबारे उहाँले स्पष्ट पार्नुभयो।

टीका लगाउँदा ज्येष्ठ तथा मान्यजनले दिने आयु, आरोग्य, यश, कीर्ति, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिको कामनासहितका आशीर्वचन नेपाली समाजमा पुस्तौंदेखि चलिआएको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा भएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा धार्मिक गुरुहरू, पत्रकार, साहित्य तथा संस्कृतिप्रेमी, सामाजिक व्यक्तित्व तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बडादशैंको धार्मिक महत्वसँगै नेपाली समाजमा यसको सांस्कृतिक, सामाजिक तथा मौलिक परम्पराका विषयमा छलफल गरेका थिए।

कार्यक्रमको सञ्चालन नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले नेपाली मौलिक धर्म, संस्कृति, भाषा, साहित्य तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0