धादिङ बेसी ,२०८३ असोज २२ गते
बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाको शान्ति सुरक्षा, यातायात व्यवस्थापन, बजार अनुगमन तथा अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउने विषयमा सरोकारवालासँग आज छलफल गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेको अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योगी–व्यवसायी, यातायात व्यवसायी तथा अस्पताल, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एम्बुलेन्सलगायत अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा पछिल्लो बाढीका कारण मलेखु–फुर्के खोला क्षेत्रमा रहेको पक्की पुल बगाएपछि धादिङबेँसी सदरमुकाम तथा जिल्लाको उत्तरी क्षेत्रको आवागमनमा परेको समस्याबारे गम्भीर छलफल भएको थियो। पुल बगेपछि वैकल्पिक सडक प्रयोग गर्नुपर्दा यात्रा दूरी बढेको, सवारीसाधन सञ्चालनमा कठिनाइ भएको र यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था आएको सहभागीहरूले बताएका थिए।
यातायात व्यवसायीहरूले वैकल्पिक सडक साँघुरो भएकाले ठूला तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताएका थिए। सडकको अवस्था र यात्राको दूरी बढेका कारण व्यवसायीलाई समेत सञ्चालन खर्च बढेको तथा यात्रुलाई सर्वसुलभ भाडामा सेवा दिन कठिन भएको उनीहरूको भनाइ थियो।
बैठकमा व्यवसायीहरूले सामान ढुवानीमा समेत अतिरिक्त खर्च व्यहोर्नुपरेको बताएका थिए। सडकको अवस्थाका कारण ढुवानी महँगो हुँदा त्यसको प्रत्यक्ष असर बजार मूल्यमा समेत पर्न सक्ने भन्दै चाडपर्वका बेला आपूर्ति व्यवस्था सहज बनाउन प्रशासनले विशेष पहल गर्नुपर्ने माग उनीहरूले गरेका थिए।
ग्यास आपूर्तिमा अझै समस्या
बैठकमा एलपी ग्यासको आपूर्ति तथा वितरणको समस्या समेत प्रमुख रूपमा उठेको थियो। धादिङबेसीमा तीनवटा ग्यासको डिलर पनि मागअनुसार नियमित आपूर्ति हुन नसक्दा उपभोक्ता तथा डिलर दुवैले समस्या भोगिरहेको ग्यास व्यवसायीहरूले बताएका थिए।
ग्यास व्यवसायी शरणकुमार श्रेष्ठले ग्यासको समस्या धादिङमा मात्र नभई देशभर नै देखिएको बताउँदै जिल्लामा पनि त्यसको असर परेको उल्लेख गर्नुभयो। मागअनुसार ग्यास नआउँदा उपभोक्तालाई सहज रूपमा सिलिन्डर उपलब्ध गराउन कठिन भइरहेको उहाँको भनाइ थियो।
आपूर्ति नियमित नभएकाले उपभोक्ताको माग पूरा गर्न समस्या भएको बताएका थिए। चाडपर्वको समयमा ग्यासको खपत अझ बढ्ने भएकाले समयमै पर्याप्त ग्यासको व्यवस्था गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उनीहरूको माग थियो।
अपराध र लागूऔषध नियन्त्रणमा प्रहरीको चासो
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार, मदिरा सेवनबाट हुने झैझगडा तथा सार्वजनिक स्थानमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका विषयमा समेत बैठकमा छलफल भएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको सक्रियता बढाइने बताउनुभयो। लागूऔषधको ओसारपसार तथा प्रयोग नियन्त्रण, मदिरा सेवनपछि हुने झैझगडा र अन्य आपराधिक गतिविधि रोक्न प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भन्दै उहाँले राजनीतिक दल, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो।
उहाँले शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता
प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेले चाडपर्वको समयमा नागरिकलाई आवश्यक वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउन प्रशासनले आवश्यक समन्वय र अनुगमन गर्ने बताउनुभयो।
उहाँले यातायात, खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्यका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउनुभयो। बाढी तथा सडक अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि सम्बन्धित निकाय र व्यवसायीहरूसँग निरन्तर समन्वय गरिने उहाँको भनाइ थियो।
चाडपर्वका समयमा जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने, यातायातलाई सकेसम्म सहज बनाउने, बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिने र नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने अवस्था सिर्जना गर्न प्रशासन प्रतिबद्ध रहेको प्रजिअ पाण्डेले बताउनुभयो।
बैठकको अन्त्यमा प्रजिअ पाण्डेले सहभागी सबैलाई धन्यवाद दिँदै २०८३ सालको बडादसैँ, शुभदीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।







