धादिङ ,२०८३ असोज २४ गते
धादिङ जिल्लाको सबैभन्दा पुरानो सहकारीका रूपमा रहेको नीलकण्ठ सहकारी संस्था लिमिटेडको ३५औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गोविन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
नीलकण्ठ नगरपालिका–३, धादिङमा रहेको उक्त सहकारीको साधारणसभा तथा अधिवेशन संस्थाका अध्यक्ष केदार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष माणिकलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो । उहाँ तत्कालीन नीलकण्ठ पञ्चायतको भूपु प्रधानपन्च पनि हो ।
अधिवेशनबाट अध्यक्षमा गोविन्द अधिकारी, उपाध्यक्षमा भरत खतिवडा र सचिवमा लक्ष्मी गिरी कोषाध्यक्ष कृष्ण मणि नेपाल ,सदस्यहरुमा कमल प्रसाद दनै ,सिताराम अधिकारी ,राम प्रसाद नेपाल ,लोकनाथ रिजाल ,रशिला श्रेष्ठ र लेखा संयोजन हरि कुमार श्रेष्ठ ,एलिना श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन्।
नयाँ कार्यसमिति चयनका लागि अधिवक्ता कृष्णराज अधिकारी, कृष्ण बद्री पौडेल र ईश्वर थापा मगर रहेको निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलको सहजीकरणमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।
वि.सं. २०१९ सालमा दर्ता भएको नीलकण्ठ सहकारीले लामो समयदेखि स्थानीय शेयर सदस्यहरूलाई समेट्दै सहकारी अभियानलाई निरन्तरता दिँदै आएको छ। सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सम्बन्ध सुदृढ बनाउन भूमिका खेल्दै आएको छ।
यस सहकारीको साधारणसभामा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति हुनुको एउटा विशेष कारण सहकारीले वर्षौंदेखि निरन्तरता दिँदै आएको दशैँ खर्च वितरण कार्यक्रम पनि हो। सहकारीले दशैँको अवसरमा शेयर सदस्यहरूलाई जिरा–मसला, तेल, नुन, चिउरालगायतका दैनिक उपभोग्य सामग्री वितरण गर्दै आएको छ। चाडपर्वका बेला सदस्यलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउने यो परम्पराले सहकारीप्रति सदस्यहरूको अपनत्व र आकर्षण बढाउन सहयोग पुर्याएको देखिन्छ।
आर्थिक कारोबारमा मात्र सीमित नभई सदस्यहरूसँग प्रत्यक्ष सम्बन्ध जोड्ने र चाडपर्वमा समेत साथ दिने सहकारीको यस अभ्यासले साधारणसभामा सदस्यहरूको उल्लेख्य सहभागिता जुटाउन मद्दत गरेको छ।
नवनिर्वाचित कार्यसमितिले सहकारीको संस्थागत विकास, सदस्यको हित संरक्षण र सहकारीप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा गरिएको छ।






