धादिङ ,२०८३ असोज २४ गते

धादिङबेसीको पुच्छार बजार चोकमा खानेपानीको पाइप गाड्ने क्रममा भत्काइएको सडकको खाल्डो लामो समयपछि बल्ल ढलान गरिएको छ। करिब ९/१० महिनादेखि जीर्ण अवस्थामा रहेको उक्त सडकको खाल्डो यही असोज २०/२१ गते ढलान गरिएपछि स्थानीयले विकास निर्माणको काममा हुने ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

खानेपानीको पाइप बिछ्याउने क्रममा सडक खनेपछि त्यसको मर्मतसम्भार समयमै नहुँदा स्थानीय बासिन्दा तथा सडक प्रयोगकर्ताले लामो समयसम्म सास्ती भोग्नुपरेको स्थानीयको भनाइ छ। सामान्य मर्मतसम्भारका कामसमेत महिनौँसम्म अलपत्र पर्नुले विकास निर्माणको कार्यशैलीमाथि प्रश्न उठाएको उनीहरू बताउँछन्।

स्थानीयका अनुसार खानेपानी आयोजनाले पाइप बिछ्याउने क्रममा सडक भत्काएपछि सम्बन्धित निकायले तत्कालै सडक पूर्ववत् अवस्थामा फर्काउनुपर्छ। त्यसैगरी, सडक विभागले पनि ठूला तथा प्राविधिक रूपमा जटिल कामका लागि टेन्डर प्रक्रिया आवश्यक भए पनि सामान्य मर्मतसम्भारका कामलाई लामो समयसम्म रोकिराख्न नहुने उनीहरूको धारणा छ।

‘विकास निर्माणका काम यति ढिलो हुनु हुँदैन। सडक भत्काउने काम भएपछि त्यसको मर्मत पनि समयमै हुनुपर्छ,’ स्थानीयको भनाइ छ।

सडक खनेर छाड्ने तर पुनर्निर्माणमा ढिलाइ गर्ने प्रवृत्तिले सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेको भन्दै स्थानीयले सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। विकास भनेको नयाँ संरचना निर्माण गर्नु मात्र नभई भत्किएका संरचनाको समयमै मर्मत र संरक्षण गर्नु पनि भएको उनीहरूको जोड छ।

पुच्छार बजार चोकको खाल्डो ढलान हुनु सकारात्मक भए पनि सामान्य काम सम्पन्न गर्न ९/१० महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयको माग छ। सार्वजनिक पूर्वाधार निर्माण तथा मर्मतसम्भारमा सम्बन्धित निकायबीच समन्वय, जवाफदेहिता र समयसीमाको प्रभावकारी कार्यान्वयन हुन सके मात्रै नागरिकले विकासको अनुभूति गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0