धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समारोहमा नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई **‘ललित प्रज्ञाश्री सम्मान’**बाट मरणोपरान्त सम्मान गरिएको छ।

स्वर्गीय अर्यालले नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै नीलकण्ठ नगरपालिकाद्वारा स्थापित नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले उक्त सम्मान उहाँकी धर्मपत्नी तथा परिवारजनलाई प्रदान गरेको हो।

यसै अवसरमा विविध सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै तमु गुरुङ छोजदी गुरुङ राष्ट्रिय परिषद्, जिल्ला कार्यसमिति धादिङलाई **‘धादिङ प्रज्ञा सम्मान–२०८३’**बाट सम्मानित गरिएको थियो।

कार्यक्रमअन्तर्गत आयोजित सांस्कृतिक विमर्शमा नेपाल मगर सङ्घका केन्द्रीय समितिका पूर्व उपमहासचिव एकु थापा मगरले मगर समुदायको भाषा, संस्कृति र पहिचानका विविध पक्षबारे प्रस्तुति दिनुभएको थियो। त्यसैगरी गणेशकुण्ड माध्यमिक विद्यालयका शिक्षक गोपाल फ्युबाले तामाङ समुदायको सांस्कृतिक विविधता र भाषिक पहिचानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। यस्तै तमु गुरुङ छोजदी गुरुङ राष्ट्रिय परिषद् धादिङका उपाध्यक्ष श्याम गुरुङले गुरुङ समुदायको संस्कृति, परम्परा र सामाजिक पहिचानबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो। प्रतिष्ठानको स्थापनाले स्थानीय साहित्य, भाषा र संस्कृतिको विकासमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले व्यक्ति परिवर्तन भए पनि संस्थाले निरन्तर समाज र संस्कृतिको सेवामा काम गरिरहने उल्लेख गर्नुभयो।

समारोहमा गुरुङ समुदायद्वारा परम्परागत घाँटु नाचसमेत प्रस्तुत गरिएको थियो। विभिन्न जातीय समुदायका प्रतिनिधि, साहित्यकार, संस्कृतिकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको कार्यक्रमले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सामूहिक प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0