धादिङ, २१ असार ,२०८३
धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा हिजो शनिबार दिउँसो पारिवारिक विवादका क्रममा छोराले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको छ।
प्रहरीका अनुसार ३० वर्षीय सुजन सुनारले आफ्नै बुबामाथि हतियार प्रहार गरेका हुन्। स्थानीयले घटनालगत्तै सुजनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। गम्भीर घाइते धनबहादुरलाई उपचारका लागि फुलखर्क प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले आरोपित सुजनलाई नियन्त्रणमा लिई घटनामा प्रयोग भएको धारिलो हतियार बरामद गरेको छ। प्रारम्भिक जानकारीअनुसार सुजन केही समयदेखि मानसिक स्वास्थ्य समस्याको उपचार गराइरहेका थिए। घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






