धादिङ, असार २२ — धादिङ प्रहरीले लागुऔषध (गाँजा) जस्तो देखिने ७ किलो ४१० ग्राम पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७:३० बजे गजुरी गाउँपालिका–२ गजुरी बजारस्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको यात्रुवाहक ईभी माइक्रो रोकेको थियो।

चेकजाँचका क्रममा माइक्रोको पछाडिको डिक्कीमा रहेको साई कृया चियापत्ती लेखिएको झोलाभित्र पहेँलो प्लास्टिकले बेरेर सात वटा पोकामा राखिएको लागुऔषध (गाँजा) जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा ७ किलो ४४० ग्राम रहेको पाइएको थियो। उक्त झोला धादिङको गजुरी गाउँपालिका–६ गेदेका २० वर्षीय प्रमोद अधिकारीको रहेको खुलेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका अधिकारीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0