बद्री पौडेल ,२५ असार २०८३

जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा ६० वर्ष उमेर पूरा गरेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू (FCHV) को सामूहिक बिदाइ तथा सम्मान कार्यक्रम  असार २३ गते सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, कार्यक्रम फोकल पर्सन पद्मराज कैनी, स्वास्थ्य शाखा प्रमुख यमबहादुर श्रेष्ठ लगायतले सम्मानित स्वयंसेविकाहरूको दीर्घकालीन योगदानको उच्च प्रशंसा गर्नुभयो। वक्ताहरूले समुदायको स्वास्थ्य सुधारमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पुर्‍याएको योगदान नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीको बलियो आधार भएको उल्लेख गर्नुभयो। नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम वि.सं. २०४५ सालदेखि सञ्चालनमा आएको हो। सुरुका दिनमा घरमै नुन–चिनी पानी (ORS) बनाउन सिकाउने अभियानबाट समुदायमा स्वास्थ्य शिक्षा फैलाउन थालेका स्वयंसेविकाहरूले पछि जीवनजल (ORS) को प्रयोगलाई घर–घरमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसयता उनीहरूले खोप अभियान सफल बनाउन बालबालिका र अभिभावकलाई खोप केन्द्र तथा स्वास्थ्य संस्थासम्म पुर्‍याउने, गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने, भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि वितरणमा सहयोग गर्ने, परिवार नियोजन, सरसफाइ, पोषण, झाडापखाला नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य, संक्रामक तथा नसर्ने रोगसम्बन्धी जनचेतना फैलाउने लगायतका कार्यमा निरन्तर अग्रसर रहँदै आएका छन्।

विशेषगरी ग्रामीण बस्तीमा कुनै पारिश्रमिकको अपेक्षा नगरी, स्वयंसेवी भावनाका साथ वर्षौँसम्म समुदायको सेवामा खटिएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा समुदायमा स्वास्थ्यसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न अतुलनीय योगदान पुर्‍याएका छन्।

कार्यक्रममा वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूको निःस्वार्थ सेवा, समर्पण, धैर्य र समुदायप्रतिको माया सधैँ सम्मानयोग्य रहने उल्लेख गर्दै उहाँहरूले पुर्‍याएको योगदानलाई पुस्तौँसम्म स्मरण गरिने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँहरूको सेवाभावले आगामी पुस्तालाई पनि समाजसेवामा प्रेरित गरिरहने धारणा राखिएको थियो।

कार्यक्रममा सम्मानित स्वयंसेविकाहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै उहाँहरूको स्वास्थ्य, दीर्घायु र सुखद आगामी जीवनको शुभकामना व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0