धादिङ, असार २८ ,२०८३
धादिङ उद्योग वाणिज्य संघले व्यवसायीमाथि हुने अनुसन्धान तथा खानतलासीका क्रममा प्रचलित कानुनी प्रक्रिया, गोपनीयता र व्यवसायिक सम्मानको पूर्ण पालना गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संघका अध्यक्ष रामकुमार डल्लाकोटीद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा संघले स्थापना कालदेखि नै व्यवसायिक हकहितको संरक्षण, जिम्मेवार तथा पारदर्शी व्यवसाय सञ्चालन र उपभोक्ता अधिकारको सम्मान गर्दै आएको उल्लेख गरिएको छ। कृत्रिम अभाव सिर्जना, कालोबजारी तथा गैरकानुनी गतिविधिविरुद्ध संघ सदैव रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
संघले कानुनको सर्वोच्चता र विधिको शासनबाट मात्र स्वस्थ व्यवसायिक वातावरण निर्माण हुने भन्दै कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्दै आएको जनाएको छ। तर, व्यवसायीको सुरक्षा र मनोबल कमजोर बनाउने गतिविधिले समग्र व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, २०८३ असार २५ गते धादिङका प्रतिष्ठित व्यवसायी, संघका पूर्वअध्यक्ष तथा दुबाडी एग्रोभेटका सञ्चालक बोधनाथ दुबाडीको व्यवसायिक प्रतिष्ठानमा गरिएको खानतलासी र त्यसक्रममा देखिएको व्यवहारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न संघले माग गरेको छ।
संघले अनुसन्धान वा खानतलासी आवश्यक परे पनि प्रचलित कानुन, स्थापित प्रक्रिया र व्यक्तिको सम्मानको पूर्ण पालना हुनुपर्नेमा जोड दिएको छ। कानुनी प्रक्रियाको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने, अपमानित गर्ने, गोपनीयता भंग गर्ने वा त्रास सिर्जना गर्ने कार्य लोकतान्त्रिक शासन प्रणालीको मर्मविपरीत हुने संघको धारणा छ।
व्यवसायीहरूले सुरक्षित, सम्मानित र सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्न सम्बन्धित सबै पक्षसँग संघले आग्रह गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन विशेष ध्यान दिनुपर्ने जनाएको छ।
धादिङ उद्योग वाणिज्य संघले व्यवसायीहरूको हक, हित, सुरक्षा र सम्मानको संरक्षणका लागि सधैं प्रतिबद्ध रहने पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।






