बद्री पौडेल , १५ साउन ,२०८३

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी पछिल्ला केही वर्षयता तीव्र रूपमा विस्तार भइरहेको सहर हो। नयाँ बस्ती, सडक, व्यापारिक भवन र आधुनिक पूर्वाधार निर्माणसँगै सहरको स्वरूप फेरिएको छ। तर यही विकासको दौडमा धादिङबेसीको पहिचानसँग जोडिएका प्राकृतिक पानीका मूलहरू भने क्रमशः ओझेलमा पर्दै गएका छन्। अझ विडम्बनाको कुरा, आधुनिक खानेपानी प्रणाली विस्तार हुँदाहुँदै पनि धादिङबेसीका नागरिकले नियमित र पर्याप्त खानेपानी पाउन सकेका छैनन्।

खानेपानीको अभाव, अनियमित वितरण, पाइपलाइनमा पटक–पटक हुने क्षति र मुहानको घट्दो क्षमताले अहिले पनि हजारौँ उपभोक्ता प्रभावित भइरहेका छन्। घर–घरमा धारा पुगे पनि धारामा पानी नआउने समस्या भने समाधान हुन सकेको छैन। यसले केवल नयाँ संरचना निर्माण गरेर मात्र खानेपानीको दीर्घकालीन समाधान सम्भव नहुने स्पष्ट सन्देश दिएको छ।

एक समय थियो, धादिङबेसीका अधिकांश परिवारको जीवन प्राकृतिक पानीका मूलसँग प्रत्यक्ष जोडिएको थियो। विक्रम संवत् २०६०/०६१ सम्म पनि घरमा धारा भए तापनि खानेपानी, खाना पकाउने, पूजा–पाठ, काजक्रिया र अन्य धार्मिक कार्यका लागि स्थानीयवासी प्राकृतिक मूलबाट गाग्रीमा पानी बोकेर ल्याउने गर्थे। त्यसबेला प्रचलित उखान “विवाहबारी गर्नु कुलको, पानी खानु मूलको” केवल एउटा भनाइ थिएन, त्यो प्राकृतिक पानीप्रतिको विश्वास र स्थानीय जीवनशैलीको प्रतिबिम्ब थियो।

जाडोमा मनतातो र गर्मीमा शीतल  चिसो रहने ती मूलहरूको पानी स्वाद, गुणस्तर र प्राकृतिक शुद्धताका कारण विशेष मानिन्थ्यो। ती मुहानहरूले केवल पानीको आवश्यकता पूरा गर्दैनथे, धादिङबेसीको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनलाई पनि जीवन्त बनाइराखेका थिए।

तर समयसँगै ती ऐतिहासिक मुहानहरू संरक्षणको अभाव, अतिक्रमण र अनियन्त्रित दोहनका कारण संकटमा पर्दै गएका छन्।

त्रिवेणी धारा यसको एउटा ज्वलन्त उदाहरण हो। कुनै समय सुन्दर ढुङ्गेधाराका रूपमा रहेको यो स्थान अहिले कुवामा परिणत भएको छ। त्यसमाथि एउटै कुवाभित्र ४५ भन्दा बढी विद्युतीय मोटर जडान गरेर पानी तान्ने क्रमले मुहानको प्राकृतिक सन्तुलन नै खल्बलिएको छ। यसरी अनियन्त्रित रूपमा पानी निकाल्ने प्रवृत्तिले भविष्यमा मुहानको अस्तित्व नै संकटमा पर्ने खतरा बढाएको छ।

धादिङबेसीको नौगरे आँपखोला धारा आज पनि धार्मिक तथा सांस्कृतिक दृष्टिले उत्तिकै महत्वपूर्ण छ। काजक्रिया, श्राद्ध तथा अन्य धार्मिक संस्कारका लागि आवश्यक पानी यही धाराबाट लैजाने परम्परा अझै कायम छ। त्यसैले यसको संरक्षण केवल पानी जोगाउने विषय होइन, सांस्कृतिक सम्पदाको संरक्षण पनि हो।

त्यस्तै वकिल धारा र रानी धारा अतिक्रमण, अव्यवस्थित निर्माण र बेवास्ताका कारण साँघुरा र उपेक्षित बन्दै गएका छन्। समयमै संरक्षण नगरिए यी ऐतिहासिक धारा भविष्यमा केवल नाममा सीमित हुने जोखिम बढ्दो छ।

हालै नीलकण्ठ नगरपालिका–२ को भुलभुले क्षेत्रमा गएको पहिरोका कारण खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त हुँदा धादिङबेसी बजारमा खानेपानीको अभाव सिर्जना भयो। त्यतिबेला धेरै नागरिकको भरोसा फेरि पनि पुराना कुवा, धारा र प्राकृतिक मूलहरू नै बने। यस घटनाले आधुनिक प्रणाली असफल हुँदा प्राकृतिक मुहानहरू नै अन्तिम भरपर्दो विकल्प हुने तथ्यलाई पुनः पुष्टि गरिदिएको छ।

प्राकृतिक पानीका स्रोतहरू केवल आपत्कालीन विकल्प मात्र होइनन्, वातावरणीय सन्तुलन, भू–जल पुनर्भरण र भावी पुस्ताको पानी सुरक्षाका आधार पनि हुन्। तर विडम्बना, मुहान वरिपरि अनियन्त्रित निर्माण, पानी पुनर्भरण क्षेत्रको संरक्षण अभाव र वैज्ञानिक भू–उपयोग योजनाको कमीका कारण यी स्रोतहरू निरन्तर कमजोर हुँदै गएका छन्।

यस अवस्थामा केवल नागरिकलाई दोष दिएर समस्या समाधान हुँदैन। नागरिकले मुहान स्वच्छ राख्ने, पानीको दुरुपयोग नगर्ने र संरक्षणमा सहभागी हुने दायित्व निर्वाह गर्नुपर्छ। त्यसैगरी स्थानीय सरकार, वडा कार्यालय, धादिङबेसी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र सम्बन्धित निकायले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन।

त्रिवेणी कुवा, नौगरे आँपखोला, वकिल धारा, रानी धारा लगायतका ऐतिहासिक पानीका मुहानलाई संरक्षण क्षेत्र घोषणा गरी नियमित सरसफाइ, मर्मत–सम्भार, पुनर्जीवन र सौन्दर्यीकरणका कार्यक्रम सञ्चालन गरिनुपर्छ। यिनको संरक्षणका लागि छुट्टै बजेट विनियोजन गर्नुका साथै पानी पुनर्भरण, वर्षाको पानी संकलन, वैकल्पिक मुहानको विकास र वितरण प्रणालीको आधुनिकीकरणलाई स्थानीय विकास योजनाको प्राथमिकतामा राख्न आवश्यक छ।

धादिङबेसीको विकास केवल अग्ला भवन, फराकिला सडक र आधुनिक संरचनाले मात्र मापन गर्न सकिँदैन। दिगो विकास त्यही हो, जसले प्रकृति, संस्कृति र इतिहासलाई समान रूपमा सम्मान गर्छ। प्राकृतिक पानीका मूलहरू धादिङबेसीको इतिहास, पहिचान, वातावरणीय सन्तुलन र भविष्यको पानी सुरक्षासँग जोडिएका अमूल्य सम्पदा हुन्।

आज जोगाइएका यी मुहानहरूले भोलिका पुस्तालाई सुरक्षित खानेपानी दिन सक्छन्। संरक्षण गरिएका यी ऐतिहासिक धारा र कुवाहरूले धादिङबेसीको मौलिक पहिचानलाई पनि जोगाइराख्नेछन्।

अब समय आएको छ—खानेपानीको संकट परेपछि मात्र प्राकृतिक मूल सम्झिने होइन, समयमै संरक्षण गरेर भविष्य सुरक्षित गर्ने। धादिङबेसीका ऐतिहासिक पानीका मूलहरूको संरक्षण आजको आवश्यकता मात्र होइन, भोलिको पुस्ताप्रतिको हाम्रो दायित्व पनि हो। विकास र संरक्षणलाई सँगसँगै अघि बढाउन सके मात्र धादिङबेसी साँच्चै आधुनिक, वातावरणमैत्री, सांस्कृतिक रूपमा समृद्ध र दिगो सहर बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0