धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धादिङमार्फत नेपाल सरकारका गृहमन्त्रीसमक्ष पठाइएको हो । ज्ञापनपत्रमा पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निष्पक्ष र पारदर्शी ढंगबाट छानबिन गर्न माग गरिएको छ ।

महासंघले कुनै सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने तथा सम्बन्धित सञ्चारमाध्यममार्फत खण्डन वा स्पष्टीकरण प्रकाशित गर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ । समाचार प्रकाशित भएको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउने महासंघले जनाएको छ ।

ज्ञापनपत्रमा राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चारमाध्यम र पत्रकारलाई डराउने तथा धम्काउने कार्य स्वीकार्य नहुने उल्लेख गरिएको छ । पत्रकार श्रेष्ठलाई झुटो कारण वा आधारमा पक्राउ गरिएको भए त्यसको सत्यतथ्य सार्वजनिक गर्नसमेत महासंघले माग गरेको छ ।

मिडियाप्रति सम्मानजनक व्यवहार गर्दै विचार वा असहमतिलाई प्रेस काउन्सिल मार्फत कानुनी तथा न्यायोचित प्रक्रियाबाट समाधान गर्नुपर्ने महासंघको धारणा छ ।

नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी राज्यको मूल्यमान्यताको सम्मान गर्न सरकारसँग आग्रह गर्दै महासंघले गिरफ्तार गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0