२८ साउन ,२०८३
आज हामी सडक, मोटरगाडी, होटल र आधुनिक यातायातको सहजतामा छौँ। तर धेरै टाढाको इतिहास होइन, २०६०/०६१ सालसम्म पनि नेपालको अधिकांश ग्रामीण भूभागको अवस्था यस्तै थिएन । सडक न्यून थिए, मोटरगाडी गाउँसम्म पुग्दैनथे र मानिसहरू लामो दूरीसम्म भारी–ढाकर (खकन भएको ) बोकेर पैदल यात्रा गर्न बाध्य थिए। त्यसबेला गाउँबाट बजार, सदरमुकाम वा अर्को गाउँ पुग्नु आफैँमा एउटा यात्रा हुन्थ्यो।
त्यही यात्रामा थकान मेटाउने, भारी बिसाउने, पानी पिउने, खाना पकाउने र रात बिताउने आधार बन्थे पाटी, पौवा र ठाँटी, बाटोमा पुगेपछि यात्रुले ढुंगा मिलाएर चुलो (चुल्ढुङ्गा ) बनाउथे , दाउरा खोजेर आगो बाल्थे र आफूसँग बोकेको चामल, मकै, कोदोको पिठो वा अन्य खानेकुरा पकाएर खान्थे। साँझ परे त्यहीँ बास बस्ने र बिहान फेरि आफ्नो भारी बोकेर गन्तव्यतर्फ लाग्ने दिनचर्या थियो।
पाटी–पौवा केवल यात्रुका लागि आश्रयस्थल थिएनन्, ती तत्कालीन ग्रामीण समाजका सामुदायिक भेटघाटका थलो पनि थिए। बाटोमा भेटिएका अपरिचित मानिस एउटै छानोमुनि बसेर खाना पकाउँथे, दुःख–सुखका कुरा गर्थे र आवश्यक पर्दा एकअर्कालाई सहयोग गर्थे। धेरै पाटी–पौवा नजिकै कुवा, धारा वा पोखरी हुने भएकाले पानीको सुविधा पनि हुन्थ्यो। कसैले पुण्य र परोपकारका लागि पाटी बनाए, कसैले पौवा, धारा वा कुवा निर्माण गरे। यसरी यी संरचनामा हाम्रो पुरानो परोपकार, यात्रु सत्कार र सामुदायिक संस्कार जोडिएको थियो।
समयसँगै सडक विस्तार भयो, मोटरगाडी गाउँगाउँ पुग्न थाले, होटल तथा रेस्टुरेन्ट खुले र यात्राको स्वरूप नै परिवर्तन भयो। पहिले ढाकर बोकेर दिनभर हिँड्नुपर्ने बाटो अहिले केही घण्टामा गाडीबाट पार हुन थाल्यो। त्यससँगै पाटी, पौवा र ठाँटीको प्रयोग पनि घट्दै गयो। आज कतिपय भत्किसकेका छन्, कतिपय जीर्ण अवस्थामा छन् र कतिपयको अस्तित्व नाममा मात्र बाँकी छ।
धादिङमा यसको इतिहास ठाउँका नाममै पनि भेटिन्छ। नीलकण्ठ नगरपालिका–४ को पौवा, भूकम्पपछि पुनर्निर्माण भएको पुरानो संरचनाको सम्झना बोकेर उभिएको छ। साबिक मुरलीभञ्ज्याङ–४ भालुवनको कुखुरे ठाँटी पनि चर्चित ठाटी हो भूकम्पपछि नामनिसाना नै हराउने अवस्थामा पुगेको छ। यो वडा न ९ र नीलकण्ठ नगरपालिकाले पुनः निर्माण गर्न चासो दिनु पर्ने हुन्छ ,तर चासो दिएको पाईएन ,नलाङको ठाँटी भञ्ज्याङ, खनियाबासको पाटी गाउँ, चरेङ पौवा र कटुन्जे बजारको भत्किएको पौवाले पनि पुरानो पैदल यात्राको इतिहास सम्झाउँछन्। त्रिपुरेश्वर–खहरेको आँखुको साउमा रहेको पाटी–पौवा भने अहिले पनि तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिन्छ।
कुनै ठाउँको नाममा ठाँटी, ठाँटी भञ्ज्याङ, पौवा वा पाटी जोडिनु संयोग मात्र होइन। ती नामले कुनै समय त्यहाँ यात्रु रोकिएर आराम गर्ने, भारी बिसाउने, पानी पिउने, खाना पकाउने वा रात बिताउने गरेको इतिहासको संकेत गर्छन्। आज सडकले ती पुराना पैदल बाटाहरू विस्थापित गरेको छ, तर ती बाटासँग जोडिएका नाम र जीर्ण संरचनाले हाम्रा पुर्खाको जीवनशैली सम्झाइरहेका छन्। यस्ता धरोहरहरुलाई भविष्यको पिढीलाई इतिहासको लागि भए पनि संरक्षण गरी राख्नुपर्ने हो ।
हामीले धेरैपटक विगतलाई पुरानो र अव्यवहारिक भनेर बिर्सने गर्छौँ। तर पाटी, पौवा र ठाँटीभित्र हाम्रो यात्रा, श्रम, परिश्रम, सामाजिक सम्बन्ध, परोपकार र ग्रामीण जीवनको एउटा महत्वपूर्ण इतिहास लुकेको छ।
२०६०/०६१ सालसम्मको त्यो जीवन आज धेरै बदलिइसकेको छ। सडकको विस्तारले यात्रा सहज बनायो, तर त्यससँगै एउटा पुरानो यात्रा संस्कृति पनि हराउँदै गयो। हिजो ढाकर बोकेर हिँड्ने मानिस ठाँटीमा भारी बिसाउँथे, पाटीमा थकाइ मेटाउँथे, पौवामा रात बिताउँथे र ढुंगाको चुलोमा खाना पकाउँथे। आज त्यही ठाउँमा सडक, गाडी र आधुनिक बजार पुगेका छन्।
त्यसैले जीर्ण हुँदै गएका पाटी, पौवा र ठाँटीलाई केवल पुराना संरचना भनेर बेवास्ता गर्नु हुँदैन। सम्भव भएका संरचनाको संरक्षण, पुराना ठाउँको अभिलेखीकरण र ज्येष्ठ नागरिकसँग रहेको मौखिक इतिहासको संकलन आजको आवश्यकता हो।
किनकि पाटी, पौवा र ठाँटी ढुंगा, माटो र काठले बनेका संरचना मात्र होइनन्—यी हाम्रा पुर्खाले हिँडेको बाटोका पदचिह्न र नेपाली समाजको पुरानो यात्राका जीवित साक्षी हुन्।
समय बदलियो, बाटो बदलियो, यात्रा बदलियो; तर इतिहास नबदलियोस्।
हराउँदै गएका पाटी, पौवा र ठाँटीसँगै हाम्रो विगत पनि हराउन नदिऔँ।






